चैत १ गतेबाट देशभर प्रदर्शनका लागि तयार रहेको फिल्म ‘पुरानो बुलेट’ को पथरीमा च्यारिटी सो गरिएको छ । केही दिन अगाडि पथरीको कञ्चन चलचित्र मन्दिरमा भएको च्यारिटी सोमा फिल्म हेर्ने सबै दर्शकहरुले ‘पुरानो बुलेट’ लाई राम्रो प्रतिक्रिया दिएका छन् । फिल्म हेर्न करीब ५ सय बढी दर्शक उपस्थिति थिए ।
दर्शकसँगै बसेर अभिनेता अनुप विक्रम शाही, अभिनेत्री माला लिम्बु, निर्देशक भीषण राई र कार्यकारी निर्माता सन्तोष राईले पनि फिल्म हेरेका थिए । क्रेजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको यो फिल्म गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थको लागी पथरीमा च्यारिटी सो गरिएको कार्यकारी निर्माता राईले बताए ।
पूर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मलाई पथरीमा दर्शकले सोचेको भन्दा धेरै राम्रो भएको बताएका छन् । नायक अनुप विक्रम र मालाले दर्शकबाट राम्रो प्रतिक्रियाबाट खुसी देखिए । वर्षा सिवाकोटी, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमणी दवाडीलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।
फिल्मको कथा–पटकथा निर्देशक भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेको फिल्ममा हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, कोरियोग्राफी प्रसान्त तामाङको रहेको छ । यो फिल्मको 'मंसिर १५' बोलको गीत अहिले चर्चामा छ ।

