Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

टर्कीको फिल्मबाट तानिएको हो ‘लभ स्टेशन’ को कथा ? (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/03/09
नेपाली फिल्मका लागि चोरी शब्द पर्यायजस्तै बनेको छ । कहिले हलिउड/बलिउड फिल्मबाट हुबहु कथा नै चोरी भएको आरोप लाग्ने गर्छ भने कहिले संवाद दुरुस्तै चोरिएको आरोप नेपाली फिल्म क्षेत्रका लागि पुरानो भइसकेको छ । कथा मात्र होइन पोस्टर समेत चोरिएको आरोप लाग्ने गर्छ फिल्मकर्मीलाई । यसबीच, चैत २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’ पनि एक टर्कीको फिल्मबाट प्रभावित भएर निर्माण भएको देखिएको छ । 
 
 
गएको मंगलवार इन्टरनेट रिलिज भएको यस फिल्मको ट्रेलरका केही दृश्यहरु टर्कीमा निर्माण भएको फिल्म ‘हर से असक्तन’ सँग डिट्टो मिल्छ । ‘लभ स्टेशन’ को ट्रेलरको सुरुवातमा ‘लभ स्टेशन रेस्टुरेन्ट एण्ड लज’ बाट हतारिँदै अभिनेत्री जसिता गुरुङ बाहिरिएकी छन् । त्यही बेला अभिनेता प्रदीप गाडीको हर्न बजाउँदै हुँइकिएर आएका छन् । यो सिन ‘हर से असक्तन’ मा दुरुस्तै छ । यो दृश्य फिल्ममा ७ मिनेट ७ सेकेण्डमा आउँछ । अभिनेता हन्डे डोगन्डेमिर र प्रदीपले फिल्ममा चलाएको गाडी पनि उस्तै लाग्छ । 
 
‘लभ स्टेशन’ ट्रेलरमा प्रदीपले गाडीको हर्न बजाएपछि हतारिएर रेस्टुरेन्टबाट निस्किँदै गरेकी जसिता तर्सिन्छिन् र गाली गर्दै अगाडि बढ्छिन् । प्रदीपले पनि गाडीमा रहेको कङ्गो जसिताको हिँडाइको ताल अनुसार बजाउँछन् । यो सिन पनि हुबहु ‘हर से असक्तन’ बाट कपी गरिएको छ । फिल्ममा अभिनेत्री सुक्रु पनि अभिनेता हन्डेले बजाएको गाडीको हर्नबाट तर्सिन्छिन् र गाली गर्दै पाइला अगाडि सार्छिन् । त्यसै बेला हन्डेले गाडीमा रहेको कङ्गो बजाउँछन् र अभिनेत्री सुक्रु रिसाउँदै फर्किन्छिन् । यो सिन हेर्दा ‘लभ स्टेशन’, ‘हर से असक्तन’ बाट प्रभावित भएर निर्माण भएको अनुमान लगाउन गाह्रो पर्दैन ।
 
हलिउड/बलिउड फिल्मको कथा चोरेर नेपाली फिल्म बन्ने गरेको आरोप नेपाली फिल्म क्षेत्रका लागि पुरानो भइसकेको अवस्थामा फिल्म ‘लभ स्टेशन’ मा पनि केही सिन एक विदेशी फिल्मबाट कपी गरिएको भेटिनु आश्चर्यजनक नहोला । टर्कीको उक्त फिल्मबाटै कथा तानेर ‘लभ स्टेशन’ बनेको हो वा केही दृश्यहरु मात्र हुबहु कपी गरिएको हो ? त्यो भने फिल्म रिलिजपछि नै थाहा हुन्छ । तर, भेट्रान निर्देशक उज्ज्वल घिमिरे निर्देशित फिल्मका केही दृश्यहरु टर्की फिल्मबाट कपी भएको भेटिनु सुखद कुरा भने पक्कै होइन । 
 
‘हर से असक्तन’ बाट केही सिन लिइएको देखिएता पनि ‘लभ स्टेशन’ को ट्रेलरलाई युट्युबमा भने दर्शकले अत्याधिक रुचाएका छन् । अहिलेसम्म ट्रेलरमाथि ११ लाखभन्दा बढीको नजर परिसकेको छ । ६ हजार बढी प्राप्त कमेन्टमा ट्रेलरलाई नकारात्मक कमेन्ट भेट्न मुश्किल पर्छ । ‘लिलिबिली’ पछि पुनः स्क्रिन साझेदारी गरेका प्रदीप र जसिताको जोडीलाई पनि दर्शकले निकै रुचाएका छन् । निर्देशक घिमिरेकै कथामा बनेको फिल्मलाई गोविन्द शाहीले बनाएका हुन् । 
 
‘हर से असक्तन’ पूरा फिल्म हेर्नुहोस् :-

'लभ स्टेशन' को ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)