छविराज ओझालाई नेपाली फिल्मका बाघ निर्माता भन्ने गरिन्छ । उनी करीब ३ दशकदेखि नेपाली फिल्म क्षेत्रमा अनवरत रुपमा सक्रिय छन् । उनी निर्मित २३ औं फिल्म 'मंगलम' गत वर्ष प्रदर्शनमा आएको थियो । एकसेएक हिट फिल्म दिने निर्माताको सूचीमा आफ्नो नाम अग्रणी स्थानमा लेखाएका उनी फिल्म चलाउन खप्पिस मानिन्छन् । फिल्म रिलिजको बेला उनको दिमागमा अनेकन फण्डा जन्मिन्छ ।
अभिनेत्री रेखा थापासँग तेस्रो बैबाहिक सम्बन्ध टुंग्याएपछि एक्लो जीवन विताइरहेका उनको दिल करीब ५ वर्ष अगाडि आफू निर्मित फिल्म 'लज्जा' बाट डेब्यू गरेकी अभिनेत्री शिल्पा पोखरेलमा बस्यो । छविको 'केयर' गर्ने बालीले शिल्पा पनि पग्लिइन् । फिल्म 'हवल्दार सुन्तली' रिलिजको बेलादेखि भने उनीहरुले आफूहरु एकअर्काको प्रेममा रहेको खुल्लम खुल्ला बोले । तर, धेरैले यसलाई उनीहरुको फिल्म चलाउने फण्डाको रुपमा लिए ।
हुनपनि, जति-जति बेला नयाँ फिल्म रिलिज हुने दिन नजिकिन्थ्यो तब-तब छविराज र शिल्पाको प्रेम सम्बन्धले मिडियामा विशेष स्थान पाउथ्यो । उनीहरु चाँडै विवाह गर्ने सोचमा रहेको भट्याउन पनि छाड्दैन थिए । ‘प्रेममा छौं र चाँडै बिहे गछौं’ भन्दै छवि र शिल्पाले फिल्म रिलिज हुने बेला मिडियालाई मसलाको कमी हुन दिएनन् । तर, फिल्म रिलिजपछि भने न प्रेम न विवाहको नै चर्चा, पुरै चकमन्न हुन्थ्यो ।
.jpg)
तर, गएको असारमा एक स्मारिकामा आफ्नो भनाई राख्दै छविराजकी पूर्वपत्नी तथा अभिनेत्री रेखा थापाले एक सनसनीपूर्ण खुलासा गरिन् । उनले छविराज र शिल्पाको दुईवर्ष अगाडि नै विवाह भएको खुलाइन् । यसले सिनेवृतमा ठूलै तरंग ल्यायो । हुनत, गुपचुप रुपमा उनीहरुले विवाह गरिसकेको चर्चा सुरु हुन भने थालिसकेको थियो । तर, यो कुरा शिल्पाले ठाडै नकारिन् । उनले रेखालाई विवाह गरेको प्रमाण ल्याउन चुनौती नै दिइन् ।
अन्ततः निर्माता छविराज ओझा स्वयंले अभिनेत्री शिल्पासँग बैबाहिक जीवनमा बाँधिएको स्वीकार गरेका छन् । उनले ५ वर्षदेखि साथमा बस्दै आएको पनि खुलासा गरेका छन् । अर्थात् फिल्म 'लज्जा' देखि नै उनीहरु लिभिङ टुकेदरका रुपमा बस्दै आएका थिए । शिल्पाको सिउँदोमा सिन्दुर भरेको दिन बताउन नचाहे पनि हालै एक अन्तर्वार्तामा ओझाले अहिले आफूहरु श्रीमान-श्रीमती रहेको बताए ।
उनले भने- 'मैले शिल्पा जीसँग ५ वर्ष अगाडि नै बिहे गरिसकेको थिएँ । किनकि, उहाँसँग मेरो ५ वर्ष अगाडि फिल्म 'लज्जा' को बेला भेट भएको थियो । त्यसबेलादेखि हामी सँगै छौं ।' उनले विवाहको कुरा नलुकाएको पनि बताए । 'छवि ओझाले खाली बिहे मात्र गर्छ भन्छन् मान्छेहरु । ठिकै छ नी हामी दुईको मन मिलेको छ । सँगै बस्छौं । अरु के चाहियो ?', उनले भने । बिहेको पार्टी शिल्पाले दिन तयार भए आफूलाई कुनै समस्या नभएको पनि उनले बताए ।
तीन वर्ष अगाडि निर्माता ओझाको एक दुर्घटनामा हात फ्याक्चर भएको थियो । उक्त घटना भएको केही दिनमा नै काठमाडौंको गोकर्ण रिसोर्टमा दुई पक्षको परिवारको सीमित सदस्यको उपस्थितिमा उनले शिल्पाको सिउँदो भरेको गोप्य स्रोत बताउँछ । तर, विवाह भइसकेको कुरा उनीहरुले लामो समयदेखि लुकाउँदै आएका थिए । न त अहिलेसम्म उनीहरुको विवाहको तश्बिर नै बाहिरिएको छ । शिल्पाका कारण विवाहको फोटो बाहिर नआएको बताइन्छ ।

