‘फिल्म दर्शकका लागि बनाउने वा समीक्षकका लागि’ भन्नेमै नेपाली फिल्मकर्मीहरु दोधारमा छन् । दर्शकलाई मनपर्ने फर्मुलालाई आत्मसाथ गरेर फिल्म बनायो भने समीक्षकलाई मन पर्दैन । समीक्षात्मक रुपमा राम्रो फिल्म दर्शकले रुचाउँदैनन् । अझ भनौं, नेपाली फिल्मको ५० वर्षे इतिहासमा समीक्षकले उत्कृष्ट भनेका फिल्म अपवाद बाहेक दर्शकले रुचाएको रेकर्ड छैन ।
केही समययता त समीक्षकले प्रशंसा गरेका फिल्म भनेपछि दर्शकले हलमा जानुभन्दा अगाडि नै नाक खुम्च्याउने गरेका छन् । किनकि, यसअघि समीक्षकको नजरमा उब्बल साबित भएका थुप्रै फिल्म दर्शकको मनमा बस्न सफल भएनन् । यही कारण नै पछिल्लो समय फिल्मकर्मीहरु पनि समीक्षात्मक फिल्म नभएर दर्शकले रुचाउने फिल्म बनाउनु पर्ने तर्क राख्न थालेका छन् ।
.jpg)
हाल प्रदर्शनरत अभिनेता अनमोल केसी अभिनीत फिल्म 'क्याप्टेन' लाई पनि समीक्षकहरुले पिटिक्कै रुचाएका छैनन् । तर, दर्शकहरुको संख्या भने नराम्रोभन्दा राम्रो भन्ने धेरै छ । बक्सअफिसमा गरेको सानदार कमाई नै फिल्म दर्शकलाई मन परेको प्रमाण हो । तर, किन दर्शकलाई मन परेको फिल्म समीक्षकलाई मन पर्दैन ? यसले अहिले सिनेवृतमा बहसको रुप लिएको छ ।
हालै फिल्म 'क्याप्टेन' हेरेर निस्किँदै गर्दा अभिनेता रमेश उप्रेतीले फिल्म समीक्षकलाई नभएर दर्शकलाई बनाइने बताए । उनले भने- 'मलाई 'क्याप्टेन' मनपर्यो । मैले धेरैपछि धेरै राम्रो फिल्म हेरेँ । साँच्चै एउटा उत्कृष्ट फिल्म बनेको हो ।' फिल्मले उठाएको 'हेभी कन्टेन्ट' आफूलाई औधि मन परेको बताउँदै उनल भने- 'खेलबाट जसरी राष्ट्रियता देखाउन खोजिएको छ त्यो सबैभन्दा राम्रो छ ।'
तपाईंहरु तारिफ गर्नुहुन्छ समीक्षकले 'झुर' भनेका छन् ? भन्ने पत्रकारको प्रश्न पूरा हुन नपाउँदै रमेशले अगाडि भने- 'फिल्म मासलाई बनाइन्छ, समीक्षकका लागि होइन । मलाई लाग्छ, फिल्म मासले माया गर्छ । समीक्षकले होइन ।' बरिष्ठ अभिनेता सुनिल थापाले पनि समीक्षकले राम्रो रेटिङ दिँदैमा फिल्म नचल्ने दाबी गरे । उनले समीक्षा पढेर फिल्मको मूल्यांकन नगर्न पनि दर्शकलाई अनुरोध गरे ।

