गत वर्ष प्रदर्शनमा आएको फिल्म 'लिलिबिली' बाट उदय भएकी अभिनेत्री हुन् जसिता गुरुङ । यो फिल्म बक्सअफिसमा ठिकठाक चले पनि उनको कामको भने जोडतोडले प्रशंसा भयो । डेब्यू फिल्मबाट उनलाई नेपाली फिल्म क्षेत्रमा राम्रो सम्भावना बोकेकी अभिनेत्रीमा रुपमा हेरिएको थियो/छ । अभिनेता प्रदीप खड्कासँग उनको जोडीलाई पनि दर्शकले अत्याधिक रुचाएका थिए ।
यो फिल्म रिलिजपछि प्रदीप र जसिताको अफेयरको खबर 'एककान दुईकान हुँदै मैदान' भएको थियो । तर, दुबैले पटक-पटक आफूहरु साथीमात्र रहेको स्पष्टिकरण दिँदै आएका छन् । यद्यपि, दुईको नाम जोडेर गसिप बन्न भने कम भएको छैन । उनीहरु पनि प्रेम सम्बन्धको चर्चाले चैत २२ मा प्रदर्शनको तरखरमा रहेको फिल्म 'लभ स्टेशन' को प्रचारमा फाइदा भएकोमा दंग छन् ।
'ब्याक टू ब्याक' दुई फिल्म साथमा गरेपछि यतिबेला अभिनेत्री जसिताले ‘प्रदीपकी हिरोइन’ को आरोप खेप्न थालेकी छन् । अब उनी यो आरोपबाट मुक्त हुन चाहेको देखिन्छ । मंगलबार फिल्म 'लभ स्टेशन' को ट्रेलर रिलिज कार्यक्रममा उनले भविष्यमा अन्य अभिनेताहरुसँग पनि काम गर्ने इच्छा रहेको सुनाइन् । लिस्ट लामो छ भन्दै उनले भनिन्, 'सौगात मल्लदेखि अनमोल केसीसम्म सबैसँग काम गर्न मन छ ।'
.jpg)
उनले पुनः प्रदीपसँग काम गर्ने इच्छा रहेको भने बोलिनन् । अहिले उनले कुन फिल्म गर्ने वा नगर्ने भन्ने निर्णय प्रदीपले लिने गरेको चर्चा सिनेवृतमा सुनिन्छ । तर, यो कुरा ठाडै नकार्छिन् जसिता । उनी भन्छिन्, 'प्रदीपसँग म सल्लाह लिन्छु तर अन्तिम निर्णय मेरै हुन्छ ।' प्रदीपले पनि जसिताले अन्य फिल्म गर्ने वा नगर्ने भन्ने आफ्नो हात नभएको स्पष्ट पारे । जसिताले सल्लाह भने माग्ने गरेको उनले बताए ।
'लिलिबिली' पछि जसितालाई 'छक्का पञ्जा ३' बाट अफर भएको थियो । तर, प्रदीपले नगर्न भनेपछि उनले रिजेक्ट गरेको बताइन्छ । अहिले उनलाई लिएर फिल्म बनाउन चाहने मेकर्सहरु थुप्रै छन् । यसमध्येकी एक हुन् 'इन्टु मिन्टु लण्डनमा' फेम्ड निर्देशक रेनाशा वान्तवा राई । उनले आफ्नो नयाँ फिल्म 'आई एम ट्वान्टिवान' मा अभिनेता धिरज मगरसँग उनको जोडी बाँध्न प्रयास गरिरहेकी छन् ।
यो फिल्म जसिताले गर्ने वा नगर्ने भन्ने निर्णय प्रदीपको हातमा रहेको स्रोत बताउँछ । तर, जसिता बजारु हल्लालाई सत्यता नमान्न आग्रह गर्छिन् । उनी भन्छिन्, 'रेनाशा म्यामसँग एकचोटी मात्र होइन धेरैपटक कुरा भएको छ । उहाँहरु अहिले स्क्रिप्टमा हुनुहुन्छ । मलाई मेरो भूमिका मनपर्यो भने अवश्य गर्छु ।' उनी प्रदीपलाई इन्डस्ट्रीमा आफ्नो सबैभन्दा ‘इन्स्पायरिङ पर्सन’ मान्छिन् ।

