केही वर्षयता नेपाली फिल्ममा पुराना चर्चित गीतलाई रि-एरेञ्ज गर्ने ट्रेन्ड नै सुरु भएको छ । हालै फिल्म 'द ब्रेकअप' मा 'आज हाम्रो भेट' र 'वीरविक्रम २' मा 'पिरतीको मिठो तिर्सना' गीतलाई रिमेक गरेर समावेश गरियो । तर, पुरानो गीतको रि-एरेञ्ज राम्रो नभएको आरोप दुबै फिल्मले राम्रै खेपे । मंगलवार फिल्म ‘यात्रा’ ले पनि अर्को हिट गीत ‘चट्ट रुमाल’ को रिमेक भर्सन सार्वजनिक गर्यो ।
यो गीतको रिमेक भर्सनलाई पनि दर्शकले पटक्कै मनपराएका छैनन् । इन्टरनेट रिलिजको २४ घण्टामा झण्डै ६ लाखले हेरिसकिएको गीतलाई ३ हजार बढी कमेन्ट प्राप्त छ । तर, अधिकांशले पुरानो गीतलाई विगारेको भन्दै गाली मात्र गरेका छन् । गीतलाई सकारात्मक कमेन्ट अत्यन्त कम छ । लोकेन्द्र साउद युट्युबको कमेन्टमा लेख्छन्, 'कठै एउटा राम्रो गीतको निर्मम हत्या गरियो ।'
(1).jpg)
अर्का युट्युब प्रयोगकर्ता सुरज लामिछानेले अहिलेसम्मकै सबैभन्दा हावा रिमेक भन्दै आक्रोस पोखेका छन् । उनी लेख्छन्, 'न स्वर मीठो छ न त कुनै लय छ न गतिलो प्रस्तुति ।' रियाना दुलालले भने गीत हेरेपछि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको याद आएको लेखेकी छन् । मनोज रेग्मीले गायिका मेलिना राईको स्वर मिठो भए पनि गायक धर्वेन्द्र सेवानको स्वर नभएको बताएका छन् ।
यो गीतलाई रि-एरेञ्ज राजन इशानले गरेका हुन् भने स्वर मेलिना र धर्मेन्द्रले भरेका छन् । पुरानो गीतमा शम्भुजित बाँस्कोटा र साधना सरगरको स्वर थियो । भने, शम्भुजित स्वयंले संगीत भरेका थिए । गीतका वास्तविक सर्जक बाबुराम दाहाल हुन् । यो गीत दर्शक अगाडिको सुपरहिट फिल्म 'आफ्नो मान्छे' मा समावेश छ । गीतको भिडियोमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहले नृत्य गरेका थिए ।
यस गीतको रिमेक भर्सनको भिडियोमा भने फिल्म 'यात्रा' का लिड कलाकारहरु सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत्त, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायतलाई फिचर्ड गरिएको छ । गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका छन् । रि-एरेञ्जसँगै गीतको कोरियोग्राफी पनि अत्यन्त कमजोर रहेको दर्शक टिप्पणी छ ।
आवश्यकभन्दा कलाकारहरुको ठूलो भीड जम्मा गरेका कारण पनि गीतप्रति धेरैले असन्तुष्टि व्यक्त गरेका छन् । ‘उच्च मेकिङ’ देखिएको गीतको शब्दसँग भिडियोको कुनै तालमेल देखिन्न । कोरियोग्राफर सिंहले कहीं कतै श्रीकृष्ण र निरुताको पुरानो डान्स स्टेप फलो गर्न खोजेका छन् तर, उनले पछिल्लो समय जुन प्रकारको मोर्डन डान्सिङ स्टेपको बोलबाल छ त्यसैलाई बढी प्राथमिकता दिएका छन् ।
गीतले जोडतोडले गाली पाइरहे पनि नेपालको युट्युब टेन्डिङमा भने अग्रता लिँदै गएको छ । यो समाचार तयार पार्दासम्म ‘चट्ट रुमाल’ गीत युट्युब टेन्डिङको पन्धौं स्थानमा छ । विस्तारै शिर्ष स्थानमा उक्लिन प्रयासरत छ । पुरानो चर्चित गीत भएका कारण पनि यो गीतको रिमेक भर्सन अहिले सामाजिक सञ्जालमा राम्रै भाइरल भइरहेको छ । गालीको ओहिरो लागे पनि यो गीतले फिल्मको हाइप निर्माणमा भने ठूलो भूमिका खेल्ने देखिन्छ ।
गीत हेर्नुहोस् :-

