Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(26 votes, avg 1.35/5.00)
Text size:-
+
-

प्रदीपको शैलीः दोषी निर्देशक, आफू निर्दोष

मनिष अन्जान, काठमाण्डौ, 2019/03/06
पछिल्ला छिमलका सर्वाधिक चर्चित अभिनेता हुन् प्रदीप खड्का । सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत' बाट उठेका उनले यसपछि करिअर कहिल्यै फर्किएर हेर्नु परेको छैन । र, विगतको समीक्षा गर्ने फुर्सद पनि छैन यतिबेला उनलाई । महँगो पारिश्रमिक तिरेर उनलाई फिल्ममा लिन चाहने फिल्मेकरहरुको ठूलै भीड छ । अहिले एक फिल्मबापत ४० लाखमाथि पारिश्रमिक उनले सजिलै पाइरहेका छन् । 
 
युवापुस्तामाझ लोभलाग्दो क्रेज भएकै कारण उनलाई लिएपछि फिल्म असफल नहुने सोचाइ फिल्ममेकर्सको दिमागमा जरा गडेर बसेको छ । तर, उनका आजसम्म कुनै फिल्मले रेकर्ड ब्रेक त टाढाको कुरा चित्तबुझ्दो व्यापार समेत गर्न सकेका छैनन् । 'प्रेमगीत' फ्लप भएको निर्माता सन्तोष सेन आफैं स्वीकार गर्छन् । 'प्रेमगीत २' ले लगानी जेनतेन सुरक्षित गर्‍यो । 'लिलिबिली' बाट पनि निर्माता घाटामै छन् । 'रोज' त पत्तासाफ नै भएको थियो । 
 
प्रदीपका फिल्मले कमजोर व्यापार मात्र गरिरहेका छैनन्, दर्शक र समीक्षकको नजरमा खरो उत्रन नसकेको यथार्थलाई पनि नकार्न सकिन्न । निर्देशक सुदर्शनले 'प्रेमगीत' मा उनीबाट जुन प्रकारको काम निकालेका थिए अन्य फिल्ममा त्यसको १० प्रतिशत पनि नदेखिएको दर्शक र समीक्षकहरुको टिप्पणी छ । तर, प्रदीपलाई यसको कुनै वास्था छ भन्ने देखिन्न । उनी लुक्सको वाहवाहीमै गमक्क छन् । 
 
 
बरु, उनी निर्देशकमाथि सम्पूर्ण दोष थुपारेर आफू निर्दोष बन्न खोजिरहेको देखिन्छ । मंगलवार फिल्म ‘लभ स्टेशन’ को ट्रेलर रिलिज कार्यक्रममा उनले विगतमा आफूले काम गरेका निर्देशकहरु खराब रहेको आशय व्यक्त गरे । 'रोज' को असफलतापछि निर्देशक छनोटमा चुकेको आरोप खेपिरहेका उनले पहिलाको फिल्मबाट निर्देशक चाहिँ राम्रो चाहिने पाठ सिकेको आफ्नै हाँसो रोक्न नसक्ने गरि बताए । 
 
उनको यो झटारो 'प्रेमगीत २' निर्देशक रामशरण पाठक, 'लिलिबिली' निर्देशक मिलन चाम्स र 'रोज' निर्देशक निरक पौडेलप्रति लक्षित थियो भन्ने अनुमान लगाउन महाभारत पर्दैन । किनकि, यी तीनै निर्देशकसँग उनको सम्बन्ध अहिले ३६ को आँकडामा छ । साथै, पाठक, चाम्स र पौडेल निर्देशित फिल्मले राम्रो प्रतिक्रिया पनि बटुल्न सकेका थिएनन् । तीनै निर्देशक प्रदीपको गलत छनोट रहेको कतिपयको टिप्पणी थियो/छ । 
 
तर, काम गर्नुभन्दा अगाडि आफूलाई एक्सन-कट भन्ने निर्देशकको बारेमा राम्रोसँग बुझ्ने/जान्ने कि, फिल्म नराम्रो भएपछि र सम्बन्ध विग्रिएपछि अनेक बहानामा मजाक उडाउने ? हुनत, उनी आफ्नै बोलीका कारण प्रायः आलोचित भइरहेका हुन्छन् । तर, अरुलाई चोर औंला देखाउँदा आफूपट्टि अरु औंलाले देखाइरहेको हुन्छ भन्ने कटुसत्यलाई प्रदीपले नजरअन्दाज गर्नुहुन्न । 
 
फिल्म खेलिसकेपछि उनको कुनै निर्देशकसँग आजसम्म राम्रो सम्बन्ध स्थापित भएको रेकर्ड छैन । चैत २२ मा रिलिज हुन लागेको फिल्म 'लभ स्टेशन' निर्देशक उज्जवल घिमिरेसँग पनि उनको अहिले सम्बन्ध सन्तुलित नभएको चर्चा सुनिन थालिएको छ । उनीसँग काम गरिसकेका निर्देशकहरु उनलाई 'घमण्डी अभिनेता' भन्ने गरेको पाइन्छ । यसकै रिस साध्न त उनले आफ्नै निर्देशकहरुको मजाक उडाएका होइनन् ? उनै जान्दछन् । 
 
तर, फिल्ममा लामो रेसको घोडा बन्न सम्बन्ध विगारेर होइन सम्बन्ध राम्रो बनाए मात्र सम्भव छ । भोली आफ्नै मजाक उड्न सक्ने डरले प्रदीपसँग काम गर्न निर्देशक/निर्माताहरु तर्किन थाले भने फिल्म करिअरले कुन रुप लेला ? उनले मनन् गर्न आवश्यक छ । अहिलेको जस्तो डिमाण्ड र क्रेज सधैं रहन्छ भन्ने छैन । त्यसैले सम्बन्ध विगारेर होइन, राम्रो बनाएर प्रदीप अगाडि बढ्न जरुरि छ । नभए, दुई दिनको घाम–छाँया !
Most Visited News (monthly)