अभिनेता अनमोल केसी केही दिनयता फिल्म ‘क्याप्टेन’ का कारण चर्चामा छन् । पहिलो हप्तामा प्रदर्शनरत फिल्मले बक्सअफिसमा राम्रो पैसा छापिरहेको छ भने अनमोल दर्शक प्रतिक्रियाबाट दंग छन् । मंगलवार साँझ राजधानीको विग मुभिजमा आयोजित फिल्मको ‘सेलिब्रेटी सो’ मा पुगेका उनी चलचित्रकर्मीहरुबाट प्राप्त सकारात्मक प्रतिक्रियाले पनि उत्साहित देखिए ।
फिल्म हेर्न उनकी ‘फेभरेट अभिनेत्री’ नम्रता श्रेष्ठ पनि पुगेकी थिइन् । अनमोलले प्रायः हरेक अन्तर्वार्तामा नम्रता आफूलाई संसारकै सबैभन्दा मनपर्ने र सँगै काम गर्न औधि मन भएको अभिनेत्री बताउने गरेका छन् । उनी आफ्नी मनपर्ने अभिनेत्रीसँग निकै नजिक पनि रहेछन् । यो कुरा नम्रताले पहिलो पटक मिडियाको सामुन्ने खुलाइन् । उनी अनमोलको प्रशंसा गरेर पनि थाक्दिनन् ।
फिल्म हेरेर निस्किँदै गर्दा नम्रताले ‘क्याप्टेन’ मा अनमोलले गरेको काम उत्कृष्ट लागेको बताइन् । उनले भनिन्, 'अनमोलले एकदम मेहनत गरेको छ । 'कृ' मा जसरी बड्डी बनाएको थियो र यसमा जति मेहनत गर्नुपर्ने थियो त्यो उसले गरेको छ । फिल्म हेर्दा उसको मेहनत देखिन्छ । उसलाई साँच्चिकै फुटबल खेलाडी लाग्छ ।' उनले अनमोल 'स्टार' भएको पनि बताइन् ।
अनमोलको पोजेटिभ पाटो के लाग्छ तपाईंलाई ? भन्ने पत्रकारको प्रश्नमा उनी भन्छिन्, 'उसले जे कुरालाई पनि सकारात्मक रुपमा लिन्छ, त्यो नै सबैभन्दा राम्रो कुरा हो ।' छेवैमा उनको कुरा सुनेर दंग देखिएका अनमोलले पनि नम्रताको तारिफ गर्न कञ्जुस गरेनन् । उनले भने- 'मलाई त उहाँको सबै मनपर्छ । उहाँको खुट्टादेखि शिरसम्म मनपर्छ ।' उनको कुराले नम्रताले हाँसो रोक्न सकिनन् ।

अनमोलले नम्रताबाट आफूले हरेक कुराको आइडिया लिने गरेको पनि बताए । अनमोल र नम्रताबीच परिवार, साथी र फिल्मका सबै कुरा हुन्छ । 'म उहाँबाट धेरै प्रभावित छु । मलाई कुनै कुरामा आइडिया लिनु पर्यो भने उहाँबाट लिन्छु', अनमोलले भने । नम्रता भने आफ्नो र अनमोलको स्वभाव मिल्ने बताउँछन् । 'हामी दुबै खासै बाहिर निस्कँदैनौं । हामीले ह्याङआउट गर्ने नै एकअर्कासँग हो', उनले भनिन् ।
दुईले टिमअपको विषयमा पनि आफ्नो विचार राखे । नम्रता भन्छिन्, 'केही फिल्ममा कुरा नभएको होइन । दुबैलाई चित्तबुझ्ने भूमिका आयो भने अवश्य काम गर्छौं ।' अनमोल पनि उनको कुरामा सही थप्दै भन्छन्, 'म विश्वस्त छु हामीबीच चाँडै टिमअप हुनेछ ।' के ‘मेरो एउटा साथी छ २’ मा जोडी बाँधिने सम्भावना छ ? पत्रकारको प्रश्नमा नम्रताले भनिन्, 'त्यो त निर्देशक दिनेश राउतलाई नै सोध्नुस् ।'
यो फिल्मको पहिलो भागमा अभिनेता आर्यन सिग्देलसँग उनको जोडी बाँधिएको छ । यसको सिक्वेलमा आर्यन नभएर नम्रता दोहोरिन सक्ने प्रवल सम्भावना रहेको चर्चा छ । यो फिल्मबाट अफर आए काम गर्न तयार हुनुहुन्छ ? अनमोलले मिठो मुस्कानका साथ भने- 'नम्रता दिदी हुनुहुन्छ भने म आँखा चिम्लिएर काम गर्न तयार छु ।' यो फिल्म गर्न अनमोलले 'ग्रिन सिग्नल' देखाए पनि नम्रता भने मौन नै रहिन् ।
दीवाकर भट्टराई निर्देशित फिल्म ‘क्याप्टेन’ हेर्न नम्रतासँगै हरिवंश आचार्य , सिताराम कट्टेल, सरोज खनाल, सूर्यमाला खनाल, कुञ्जना घिमिरे, सुनिल थापा, निर्मल शर्मा, दीपिका प्रसाइँ, परमिता आरएल राणा, रमेश उप्रेती, सलोन बस्नेत, शोभित बस्नेतलगायत पनि पुगेका थिए । सबैले फिल्मको प्रशंसा गरेका छन् । हरिवंशले प्राविधिक पाटो कमजोर भए पनि समग्रमा फिल्म राम्रो बनेको प्रतिक्रिया दिए ।

