Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डले फिल्म बचाउने कार्यशाला गर्दै

फिल्मीखबर, काठमाण्डौ, 2019/03/04
नेपाली चलचित्र क्षेत्रको विकास, प्रवद्र्धन तथा संरक्षणका निमित्त स्थापित नेपाल चलचित्र विकास बोर्डको पहलमा यही फागुन २१ गते मंगलबार फिल्म संरक्षण सम्बन्धी कार्यशाला आयोजना हुने भएको छ । चावहिलस्थित विकास बोर्डकै प्रिभ्यु थिएटरमा १० बजेदेखि सुरु हुने कार्यशाला बेलुकी ४ बजेसम्म चल्नेछ । 
 
आइतबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा 'एफ.आइ.ए.एफ' का तालिम संयोजक बेलायत निवासी डेभिड वल्स र भारतीय शिवेन्द्र सिंह डुंगरपुरले एकदिने कार्यशाला सञ्चालन गर्ने जानकारी दिए । दुबै कार्यशालाकै लागि आइतबार मात्र नेपाल ओर्लिएका हुन् । दुबैले मंगलवार हुन लागेको कार्यशालामा नेपाली फिल्मकर्मीलाई सिकाइने विषयबारे अवगत गराए । 
 
पत्रकार सम्मेलनमा बोल्दै शिवेन्द्रले एनालग प्रविधिसँगै डिजिटल युगमा पनि फिल्मको संरक्षणको रणनीति उत्तिकै महत्त्वपूर्ण रहेको बताए । उनले फिल्म संरक्षण गर्ने कुरा गर्दा धेरैले एनालग प्रविधिमा खिचिएका फिल्मलाई डिजिटाइज गर्ने भन्ने मात्र बुझ्ने गरेता पनि डिजिटल फर्म्याटमा खिचिएका फिल्मलाई पनि उत्तिकै जतन गर्न जरुरी रहेको औंल्याए । 
 
 
उनले नेपालका धेरै फिल्म आफूले मुम्बईका स्टुडियोमा अलपत्र अवस्थामा देखेको स्मरण गर्दै नेपालले आफ्ना फिल्म संरक्षणमा काम गर्न ढिला गर्न नहुने सुझाए । त्यसैगरि अन्तर्राष्ट्रिय फिल्म आर्काइभ संघका सदस्य तथा ट्रेनर डेभिड वेल्सले फिल्मले समय र संस्कृति पनि जीवित राख्ने भएकाले इतिहासका लागि पनि धेरै फिल्महरु जीवित राख्नु पर्ने बताए । 
 
उनले भने- ‘हामी धेरैले भविष्य सोचेर काम गरिरहेका हुँदैनौं । तर, आज गरेको काम भोलीको पुस्ताका लागि पनि जीवित रहनुपर्छ । फिल्म, डकुमेन्ट्री वा अन्तर्वार्ता नै किन नहोस् तिनको महत्त्व हुन्छ र तिनलाई संरक्षण गर्ने विशेष विधि छ । एक दिनमा सबै कुरा त सिकाउन सकिन्न तर हामी धेरै भन्दा धेरै फिल्मकर्मीलाई यस बारेमा सचेत गराउन चाहान्छौं ।’
 
चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालले चलचित्र विकास बोर्डले पहिलो छिमलका बाह्र फिल्मलाई डिजिटाइज गर्ने प्रक्रिया सुरु भएको जनाउँदै यसरी संरक्षण गरिएका फिल्मलाई विशेष प्रदर्शन गर्ने योजना रहेको बताए । यस्तै, बोर्डका अधिकृत चिरञ्जीवी गुरागाइँले कार्यशालामार्फत् नेपाली फिल्ममेकरलाई धेरैभन्दा धेरै लाभ लिन आग्रह गरे । 
Most Visited News (monthly)