.jpg)
नेपाली सेलिव्रेटीहरुको लभ लाइफको कुरा आम मानिसहरुका लागि अनौठो पक्कै होइन् । प्रायः हरेक हप्ता कुनै न कुनै सेलिव्रेटीहरुको अफेयरका खबरहरु मिडियामा आइरहेका हुन्छन् । केही दिनयता अभिनेत्री साम्राज्ञी आरएल शाह र उद्योगपति देवांशु राणाबीचको प्रेम सम्बन्धले सिनेवृत तातिरहेको छ । यसबीच फेरि एक अभिनेत्रीको प्रेम सम्बन्ध छताछुल्ल भएको छ ।
अभिनेत्री माला लिम्बु करीब ६ वर्षदेखि होटल व्यवसायी दिवस तामाङ श्रेष्ठको प्रेममा छिन् । हालै सञ्चारकर्मी सुरक्षा भट्टराईसँगको एक अन्तर्वार्ताको क्रममा उनी स्वयंले आफ्नो प्रेम सम्बन्धको बारेमा मुख खोलेकी हुन् । अन्तर्वार्तामा साथमा रहेका अभिनेता अनुपविक्रम शाहीले माला ६ वर्षदेखि प्रेममा रहेको खुलासा गरेका थिए ।
अनुपले प्रेमीको नाम खुलासा गर्न दबाब दिएपछि मालाले एकछिन मुख छोपिन् । नेपाली कम अंग्रेजी बढी बोल्ने उनी अन्ततः प्रेमीको नाम भन्न बाध्य भइन् र भनिन्, 'हो म रिलेसनपिमा छु । ऊ अनुपको पनि मिल्ने साथी हो । नाम दिवस श्रेष्ठ हो ।' उनले प्रेमलाई तत्काल विवाहमा परिणत गर्ने सोचमा भने नभएको बताइन् ।
मालाको नयाँ फिल्म 'पुरानो बुलेट' आउँदो चैत १ मा प्रदर्शनमा आउँदैछ । यसमा उनी अभिनेता अनुपको अपोजिटमा छिन् । यो फिल्मको पोस्टरदेखि ट्रेलरसम्म मालाका प्रेमीले आफ्नो फेसबुकमा साझेदार गरेका छन् । फिल्म रिलिजको बेला मालाले प्रेम सम्बन्ध सार्वजनिक गरेपछि अब यसको फाइदा 'पुरानो बुलेट' को प्रचारमा पुग्ने देखिन्छ ।

