Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

यसकारण गरिनँ ‘यात्रा’ मा गेटअप परिवर्तन : सलिनमान

फिल्मीखबर, काठमाण्डौ, 2019/03/03
झट्ट हेर्दा मंगोलिन जस्तो लाग्ने अभिनेता सलिनमान बनियाँ डेब्यू फिल्म 'ए मेरो हजुर २' बाटै चम्किए । अभिनय कमजोर रहेको प्रतिक्रिया अनगिन्ती आए पनि  उनको लुक्स, हेयर स्टाइल र ड्रेसअपले धेरैलाई भुतुक्कै बनाएको थियो । डेब्यू फिल्मबाटै नेपाली फिल्म क्षेत्रका उदाउँदा नक्षत्रको रुपमा उनलाई हेरिएको छ । अहिले उनलाई फिल्ममा लिन निर्माताबीच ठूलै रस्साकस्सी छ ।
 
डेब्यू फिल्म आउनु अगावै उनको राम्रो फ्यान फलोइंग थियो । फिल्मले झन् फ्यानको घेरा थप फराकिलो बनाएको छ । अभिनयमा निखारता ल्याउन सकेको खण्डमा अहिलेका 'हटकेक' अनमोल केसी र प्रदीप खड्कालाई उनी 'थ्रेट' हुनसक्ने चर्चा सिनेवृतमा छ । अचेल उनी आउँदो चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको दोस्रो फिल्म 'यात्रा' को प्रचारमा व्यस्त छन् । 
 
 
उनी यो फिल्ममा एक भ्लगरको भूमिकामा छन् । टिजर र एक ट्राभल सङले फिल्मको राम्रो हाइप निर्माण गर्दैगर्दा उनी भने एक वर्षपछि दर्शकलाई भेट्न आतुर छन् । बुधबार डिल्लीबजारको एक कफी सपमा पत्रकारसँग गफिँदै उनले 'यात्रा' मा आफूले अभिनयमा खुब मेहनत गरेको सुनाए । उनी भन्छन्, 'डेब्यू फिल्ममा भन्दा यसमा मेरो अभिनयमा दर्शकले फरक पाउनुहुन्छ ।' 
 
नचाहँदा-नचाहँदै फिल्ममा प्रवेश गरेका उनी 'ए मेरो हजुर २' पछि आफूलाई सुहाउने भूमिका पाएका कारण 'यात्रा' गर्न राजी भएको बताउँछन् । मंगलवार यस फिल्मको दोस्रो गीत सार्वजनिक हुँदैछ । दशक अगाडिको फिल्म 'आफ्नो मान्छे' मा समावेश हिट गीत 'च्याट्ट रुमाल क्या मालुम' गीतलाई यस फिल्ममा रिमेक गरिएको छ । उनले उक्त गीतमा नाच्दाको अनुभव पनि साटे । 
 
'मलाई खासै नाच्न आउँदैन तर प्रयास गरेको छु', सलिनले थपे- 'बरु मलाई नाच्न भन्दा एक्सन सिन गर्न सजिलो लाग्यो । चोट लागे पनि मैले एक्सन सिन गर्दा बढी इन्जोय गरेँ ।' 'च्याट्ट रुमाल क्या मालुम' गीतमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंहले ठुम्का लगाएका थिए । तपाईंमा दर्शकले श्रीकृष्णलाई देख्लान् ? पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने- 'श्रीकृष्णदाई जस्तो त कहाँ नाच्न सक्छु र म ।' 
 
'उहाँ (श्रीकृष्ण श्रेष्ठ) भन्दा माथि पुगेका छैनौं । तर, उहाँको लेभलसम्म चाहिँ पुग्ने प्रयास गरेको छु', सलिन सुनिए । यस फिल्मको टिजर र गीत रिलिज भएपछि दर्शकबाट सलिनलाई गेटअप डेब्यू फिल्ममा भन्दा फरक नभएको प्रतिक्रिया थुपै आएका छन् । उनले कफी गफमा यसको पनि जवाफ दिए । फिल्ममा सुहाउने भएकै कारण हेयर स्टाइल परिवर्तन नगरेको उनको भनाई छ । 
 
क्यारेक्टरलाई एकदमै फिट हुने भएकाले हेयर स्टाइल र गेटअप परिवर्तन गर्न आवश्यक नठानेको उनले बताए । उनी भन्छन्, 'फिल्म हेरेपछि मैले किन हेयर स्टाइल परिवर्तन गरिनँ भन्ने थाहा हुन्छ । क्यारेक्टरमा मेरो हेयर स्टाइल एकदमै फिट छ ।' उनलाई हेयर स्टाइल परिवर्तन गर्न मन भने रहेछ । उनी सँधै एउटै हेयर स्टाइल देखाउन मन नभएको बताउँछन् । अर्को फिल्ममा परिवर्तन पाउने उनले विश्वास दिलाए । 
 
 
यस फिल्ममा सलिनका अलावा जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोललगायतको फिल्ममा अभिनय छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् ।
 
सम्राट शाक्य निर्देशित यस फिल्मलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथा पनि निर्देशक स्वयंको छ । संजय लामाले फिल्म खिचेका हुन् । 
Most Visited News (monthly)