‘बक्सअफिस किंग’ अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । महाशिवरात्रीको विदालाई मध्यनजर गर्दै प्रदर्शनमा उत्रिएको फिल्मले शुक्रवार ठिकठाक व्यापार गरे पनि शनिबार देशैभर बम्पर व्यापार गर्यो । हरेक फिल्ममा आफूलाई परिपक्क बनाउँदै लगेका अनमोलले यस फिल्ममा गरेको मिहिनेतलाई पनि दर्शकले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
फिल्ममा उनी फुटबल खेलाडी इशानको भूमिकामा छन्, जसलाई पिता (सरोज खनाल) को फुटबलमा देशलाई गोल्ड मेडल जिताउने सपना साकार गर्दै देख्न सकिन्छ । प्राविधिक कमजोरी थुप्रै हुँदाहुँदै पनि कलाकार विल्सन विक्रम राई धेरै हदसम्म फिल्म धान्न सफल छन् । उनको कमेडीमा दर्शकले बढी इन्जोय गर्छन् । उनी फिल्मका मेरुदण्ड हुन् भन्दा फरक पर्दैन ।
.jpg)
छायाँकार सुदीप बरालको काम उम्दा छ । भने, अभिनेत्री उपासना सिंह ठकुरीले राम्रो सम्भावना देखाएकी छन् । अभिनयमा अझै मिहिनेत गरेको खण्डमा उनलाई नेपाली फिल्म क्षेत्रले राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा लिन सक्नेछ । अर्की अभिनेत्री प्रियंका एमभीको भूमिका र अभिनय दुबै ठिकठाक छ । कोचको भूमिकामा रहेका अभिनेता प्रशान्त ताम्राकारको अभिनय शैली खासै नयाँ लाग्दैन ।
समीक्षकको नजरमा खरो उत्रन नसकेको ‘क्याप्टेन’ लाई दर्शकबाट भने मिश्रित प्रतिक्रिया प्राप्त छ । अनमोल भनेपछि हुरुक्कै हुनेले औधि रुचाएका छन् । भने, अन्यले राम्रो र नराम्रो दुबै खाले प्रतिक्रिया दिएका छन् । घरेलु बजारमा ६ करोड ग्रस कलेक्सन गरे लगानी सुरक्षित हुने यो फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । फिल्मको कथा सामिप्यराज तिमल्सिनाको हो ।
शनिबार दर्शक प्रतिक्रिया बुझ्न राजधानीका केही हल चहारेका अभिनेता तथा फिल्मका निर्माता भुवन केसीले ‘क्याप्टेन’ जति नै ठूलो हिट साबित भए पनि यसको सिक्वेल बनाउन नसक्ने बताए । दुई हात जोडेर दर्शकसँग माफी माग्दै उनले भने- 'यो फिल्म बनाउन यति गाह्रो भयो कि, सम्झँदा पनि कहाली लागेर आउँछ । त्यसैले यसको दोस्रो पार्ट बनाउन म असमर्थ छु ।'
अभिनेता अनमोलले भने दर्शक प्रतिक्रियाबाट आफू सन्तुष्ट रहेको बताए । उनी भन्छन्, 'हामी कलाकारले दर्शकहरुबाट माग्ने भनेको माया र सहयोग नै हो । त्यो यसपटक पनि पाएँ । म एकदमै खुसी छु ।' समीक्षकले तपाईंका फिल्म किन रुचाउँदैनन् ? भन्ने पत्रकारको प्रश्नमा उनले भने- 'मेरा लागि दर्शक नै समीक्षक हुन् । दर्शकले रुचाइदिनु भएको छ, मेरो लागि त्यही नै काफी छ ।'

