Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेमराजको स्वीकारोक्तिः ‘द ब्रेकअप’ को ओपनिङ राम्रो भएन

फिल्मीखबर, काठमाडौं, 2019/03/01
वर्ष २०७५ ले अबको डेढ महिनामा हामीबाट सदा-सदाका लागि विदा माग्दैछ । गएको साढे १० महिनाको अवधिमा नेपाली फिल्म क्षेत्रमा के-कस्ता उपलब्धि भए ? त्यसको समीक्षा गर्न बाँकी छ । तर, हरेक वर्षझैँ यस वर्ष पनि थुप्रै निर्माताहरुको करोडौंको लगानी बालुवामा पानी हालेझैं भएको छ । कति त न घर न घाटको समेत भएका छन् । 
 
बैशाखदेखि फागुन दोस्रो सातासम्म आइपुग्दा ८० भन्दा बढी फिल्म प्रदर्शनमा आइसकेका छन् । तर, हिटको संख्या अत्यन्त कम छ । 'नाइँ नभन्नू ल ५', 'छक्का पञ्जा ३' र 'जय भोले' सुपरहिट साबित भए । 'चंगा चेट', 'प्रसाद', 'रामकहानी' र 'इन्टु मिन्टु लण्डनमा' ले जेन्तेन लगानी सुरक्षित गर्‍यो। बाँकी अधिकांश फिल्मले हलमा पानी समेत भन्न पाएनन् । 
 
पछिल्लो रिलिज फिल्म 'प्रसाद' पछि कुनै फिल्मले लगानी सुरक्षित गरेको रेकर्ड छैन । धेरै आशलाग्दा फिल्म रिलिज भए तर हलसम्म दर्शक नै पुगिदिएनन् । हल पुगेका दर्शक पनि नाक खुम्च्याउँदै निस्किए । अहिले चलचित्रकर्मीबीच दर्शक हराएको चर्चा सुरु हुन थालेको छ । हेरेर राम्रो वा नराम्रो भन्नु त टाढाको कुरा दर्शक फिल्म हेर्न हलसम्म पनि पुग्न छाडिसकेका छन् । 
 
केही महिनायता 'ठन्डाराम' रहेको नेपाली फिल्मको व्यापार शुक्रवारबाट प्रदर्शनमा आएका दुई ठूला फिल्म 'क्याप्टेन' र 'द ब्रेकअप' ले चलायमान बनाउने चलचित्रकर्मीहरुको ठूलो विश्वास छ । तर, पहिलो दिन (शुक्रवार) बिहानको ओपनिङले भने केही निराश बनाएको छ । प्रदर्शनको पहिलो दिन बिहान मल्टिप्लेक्स र सिंगल थिएटर दुबैमा दुबै फिल्ममा दर्शकको उपस्थिति उत्साहजनक छैन ।  
 
 
'द ब्रेकअप' भन्दा 'क्याप्टेन' मा दर्शकको चाप केही राम्रो छ, तर फिल्मको हाइप र अभिनेता अनमोल केसीको स्टारडमलाई हेर्दा भने सन्तुष्ट हुने ठाउँ छैन । बिहानको ओपनिङ अकुपेन्सी 'क्याप्टेन' को ३५ प्रतिशतको आसपास छ भने 'द ब्रेकअप' को २० प्रतिशत छ । निर्देशक हेमराज विसीले फिल्म 'द ब्रेकअप' को ओपनिङ राम्रो नभएको स्वीकार गरेका छन् । 
 
शुक्रवार विग मुभिजमा आयोजित प्रेस सोमा पत्रकारहरुको प्रतिक्रिया बुझ्न पुगेका उनले आफूहरुले अपेक्षा गरेअनुसार फिल्मलाई ओपनिङ नमिलेको बताए । उनी भन्छन्, 'प्रचार राम्रो थियो । प्रायः दर्शकलाई फिल्म शुक्रवारबाट लाग्दैछ भन्ने पनि थाहा थियो । तर, ओपनिङ सोचे अनुरुप भएन ।' उनले आफ्नो फिल्मको मात्र नभएर 'क्याप्टेन' को ओपनिङ पनि उम्दा नरहेको बताए ।
 
उनले भने- 'हाम्रो फिल्मको मात्र होइन सबैले आशा गरेको फिल्म 'क्याप्टेन' को ओपनिङ पनि राम्रो छैन । किन दर्शक हलसम्म आइरहेका छैनन् बुझ्न सकेका छैनौं ।' उनले केही महिनायता फिल्म नचलेको असर दुई फिल्मलाई पनि परेको हुनसक्ने अडकल काटे । उनी दर्शकहरु दिउँसोबाट भने हल आउनेमा विश्वस्त छन् । 
 
‘द ब्रेकअप’ हेरेपछि रंग पत्रकारहरुले भने मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले राम्रो बोलिरहँदा केहीले आशा अनुरुप नभएको टिप्पणी गरेका छन् । फिल्मको कमजोर पक्ष भनेको स्क्रिनप्ले हो, जसमा मेहनत पुगेको देखिन्न । प्रायः हेरिरहेकै लभस्टोरी फिल्मभन्दा दर्शकले फरक अनुभव गर्दैनन् । अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेम र ब्रेकअपमा फिल्म रुमलिएको छ । 
 
डेब्यू फिल्मभन्दा आशिरले राम्रो काम पस्किने प्रयास गरेको देखिन्छ । शिल्पाको अभिनय औसत छ । सहायक भूमिकामा रहेका इच्छा कार्की र रेमनदास श्रेष्ठको अभिनयले भने दर्शकलाई बाँध्छ । फिल्मको मेकिङ गजब छ । छायाँकार नरेन्द्र मैनालीको कामको प्रशंसा नगरि बस्न सकिन्न । निर्देशक विसीले भने धेरै ठाउँमा कैची चलाउन कञ्जुस गरेको भान हुन्छ । 
Most Visited News (monthly)