वर्ष २०७५ का दुई ठूला र प्रतिक्षीत फिल्म 'क्याप्टेन' र 'द ब्रेकअप' शुक्रवारबाट हलमा उत्रिएका छन् । महाशिवरात्रीको छेकोमा प्रदर्शनमा आएका दुई फिल्मको भिडन्तको चर्चाले केही दिनयता सिनेवृतमा ठूलै तरंग ल्याएको थियो । धेरैले यो हप्ताको शुक्रवारलाई 'इगो' को भिडन्तको रुपमा लिएका छन् । किनकि, तीन फिल्म साथमा गरेका 'क्याप्टेन' अभिनेता अनमोल केसी र 'द ब्रेकअप' निर्देशक हेमराज विसीको सम्बन्ध अहिले ध्वस्त रहेको बताइन्छ ।
'जात्रै जात्रा' को रिलिज डेट पोस्टपोन्ड भएकै दिन पुष २७ गतेबाट भिएफएक्सको काम पूरा नभएको भन्दै निर्देशक बिसीले 'द ब्रेकअप' लाई फागुन १७ मा हालेका थिए । भिएफएक्सलाई देखाउने दाँत बनाएर अनमोलले आफ्नो फिल्म एकपछि अर्को रिजेक्ट गरेको रिस साध्न उनले फिल्म भिडाएको चियापसलमा चलचित्रकर्मीबीच कानेखुसी चलिरहेको छ । तर, यो कुरा हेमराजले नकार्दै आइरहेका छन् ।
बजारमा जे जस्ता हल्ला र बहस चलेता पनि शुक्रवारबाट दुई फिल्म बक्सअफिसमा आमने-सामने भएका छन् । दुबै फिल्म एकअर्काका लागि कडा प्रतिस्पर्धी मानिएका छन् । न 'द ब्रेकअप' लाई हराउन क्याप्टेनलाई सजिलो छ न 'क्याप्टेन' लाई पराजित गर्न 'द ब्रेकअप' लाई सजिलो छ । यो खेलमा कसले कति गोल हान्छ ? त्यो भने सबैका लागि चासोको विषय बनेको छ । यद्यपि, अनमोलको स्टारडमका कारण 'क्याप्टेन' को इनिसियल बक्सअफिस आक्रामक हुनेमा भने शंका छैन ।

दीवाकर भट्टराई निर्देशित फिल्म ‘क्याप्टेन’ मा अनमोल नेपाली फुटबल टिमका कप्तान ईशान खड्काको भूमिकामा रहेका छन् । बाबुको सपना साकार पार्न हिँडेको मध्यम वर्गीय परिवारको ईशानले देशका लागि स्वर्ण पदक जित्ने यात्रामा के–कस्ता चुनौती सामना गर्नुपर्छ भन्ने फिल्मको मूल कथा हो । यसमा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् ।
धमाकेदार ट्रेलर र दुई गीत (रहर छ सँगै र कर्ली कर्ली कपाल) ले लोभलाग्दो हाइप निर्माण गरेको यस फिल्मलाई चर्चित अभिनेता भुवन केसीले निर्माण गरेका छन् । फिल्मको पटकथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् । फिल्ममा सुदिप बरालको छायांकन छ । सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि यसमा अभिनय छ ।
अभिनेत्री निरुता सिंह र अभिनेता भुवन केसीले 'कर्ली कर्ली कपाल' बोलको गीतमा ठुम्का लगाएका छन् । यो फिल्मले मल्टिप्लेक्सहरुमा राम्रो सोज हात पारेको छ । सिंगल स्कृन पनि पर्याप्य मिलेको छ । नेपालकै ठूलो र स्तरीय मल्टिप्लेक्स च्यानल क्यूएफएक्सले राजधानीका ५ स्टेशनमा फिल्मलाई १६ सोज दिएको छ । प्रदर्शनरत दुई हिन्दी फिल्म 'टोटल धमाल' र 'गल्ली ब्वाई' का कारण फिल्मले अपेक्षाकृत सोज पाउन भने चुकेको छ ।
यस्तै, हेमराजको 'द ब्रेकअप' मा चकलेटी ब्वाई आशिरमान देशराज जोशी र नव-अभिनेत्री शिल्पा मास्के लिड रोलमा छन् । फिल्म यी दुईको प्रेम र विछोडको वरिपरि मडारिएको छ । यसलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।
फिल्ममा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्मले 'क्याप्टेन' भन्दा कम 'सिंगल स्कृन' पाए पनि पट्यारलाग्दो भने छैन । निर्माण टिम माउथ पब्लिसिटीले हल संख्या वृद्धि हुनेमा विश्वस्त छ । मल्टिप्लेक्सहरुमा भने औसत सोज पाएको छ । पहिलो दिन क्यूएफएक्सले राजधानीका ५ स्टेशनमा फिल्मलाई १० सोजमा उपलब्ध गराएको छ ।

