Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 1.00/5.00)
Text size:-
+
-

आशिरमान भन्छन्, ‘अनमोलसँग डर छैन’

फिल्मीखबर, काठमाण्डौ, 2019/02/28
भोली शुक्रवार यस वर्षको सबैभन्दा ठूलो ‘क्यास’ हुँदैछ । कारण, दर्शकमाझ प्रतिक्षीत दुई फिल्म ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ बक्सअफिसमा आमने-सामने हुँदैछन् । दुई फिल्मको भिडन्तले केही दिनयता सिनेवृत राम्रै गर्माएको छ । अभिनेता अनमोल केसीको फिल्मसँग एउटै डेटमा भिडन्त गर्नु भनेको ‘बाघको मुखमा हात हाल्नु सरह हो’ भनिन्छ । ‘द ब्रेकअप’ ले त्यो जोखिम उठाएको छ । 
 
अनमोल र ‘द ब्रेकअप’ निर्देशक हेमराज विसी आज जुन स्थानमा छन्, त्यो एकअर्काको सहकार्य बिना सम्भव थिएन । किनकि, 'होस्टेल' दुबैको डेब्यू फिल्म थियो । यो फिल्मबाट अनमोल चम्किएका थिए । भने, हेमराजले आफ्नो नाम सफल निर्देशकको सूचीमा लेखाए । यसपछि यी दुईको 'जेरी' र 'गाजलु' मा पनि टिमअप भयो । यसपछि भने उनीहरु दुई ध्रुव भए । 
 
केही समययता दुईको सम्बन्ध सन्तुलित नभएको चर्चा सिनेवृतमा छ । अनमोलले 'ब्याक टू ब्याक' आफ्नो फिल्म (ग्याङ्गस्टर ब्लूज र द ब्रेकअप) रिजेक्ट गरेपछि हेमराजले इगो साध्न फागुन १७ मा 'क्याप्टेन' सँग 'द ब्रेकअप' जुधाउन लागेको गाइँगुइँ चर्चा छ । तर, यो ठाडै नकार्छन् हेमराज । उनी भिएफएक्सको काम समयमा नसकिएका कारण पुष २७ बाट फागुनमा सर्नु परेको बताउँछन् । 
 
हेमराजले हालै एक भेटमा आफूले यसअघि निर्देशन गरेका फिल्मभन्दा 'द ब्रेकअप' मा भिन्नै स्वाद दर्शकले चाख्न पाउने दाबी गरे । अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको लिपलक सिनका कारण पनि चर्चामा रहेको फिल्ममा चुम्बन दृश्य कलात्मक रुपमा पस्किने प्रयास गरेको निर्देशक विसीको भनाइ छ । कथाले मागेर नै अभिनेता/अभिनेत्रीको लिपलक सिन फिल्ममा समावेश गरिएको उनले बताए । 
 
 
हेमराजले अभिनयमा अनमोल र आशिरमानमध्ये को बेस्ट ? भन्ने पत्रकारको प्रश्नको उत्तर पनि दिए । केहीबेर घोत्लिएपछि उनले भने- 'यो साह्रै कठिन सवाल हो । किन्तु, कामको हिसाबले आशिरमान प्रफेक्ट । व्यवहार दुबैको राम्रो छ, प्रफमेन्सको हिसाबले स्कृप्ट अनुसार काम दुबैले राम्रो दिनसक्छन् । 'ग्याङ्गस्टर ब्लूज' देखि 'ब्रेकअप' सम्म आउँदा  भने आशिरले गरेको कामबाट चाहिँ म प्रभावित छु ।' 
 
अनमोलको प्रशंग उठ्दै गर्दा निर्देशक विसीको छेवैमा रहेका अभिनेता आशिरमानलाई पनि पत्रकारले प्रश्न गरे- 'अनमोलको फिल्मसँग आफ्नो फिल्म जुध्दैछ भन्ने डरले कति सताएको छ ?' उनले डर रत्ति नभएको बताए । उनी हरेक कलाकारलाई काममा विश्वास हुनुपर्ने तर्क राख्छन् । ‘यदी अनमोलको फिल्मसँग मेरो फिल्म एकसाथ रिलिज हुँदैछ भनेर सोच्दै बस्ने हो भने रातभरी निन्द्रा लाग्दैन थियो होला’, उनी सुनिए । 
 
उनले ‘द ब्रेकअप’ आफ्नो दोस्रो फिल्म भएका कारण आफू स्थापित हुन खोजिरहेको बताए । 'ग्याङ्गस्टर ब्लूज' भन्दा फरक भूमिका निभाएको बताउँदै उनले थपे- 'दर्शकको इच्छा अनुसार नै मैले ‘द ब्रेकअप’ मा लभर ब्वाईको भूमिका गरेको हुँ । मलाई पनि मज्जा आयो लभर ब्वाईको भूमिका निभाउन पाएर । दर्शकलाई पनि रमाइलो लाग्छ भन्नेमा आशावादी छु ।' अभिनयमा डेब्यू फिल्मभन्दा सुधार गर्ने प्रयास गरेको पनि उनले बोले । 
 
‘द ब्रेकअप’ लाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । निर्देशक बिसीकै कथा रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । फिल्ममा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । 
Most Visited News (monthly)