(1)(1).jpg)
फरक धारका फिल्म निर्माणमा रमाइरहेका निर्देशक साम्तेन भुटिया पहिलो पटक कमर्शियल फिल्म बनाउन तम्सिएका छन् । 'लेटर' बाट निर्देशनमा डेब्यू गरेका उनी चकलेटी अभिनेता आर्यन सिग्देललाई लिएर कमेडी फिल्म ‘चच हुई’ बनाउँदैछन् । यसअघिका फिल्ममा निकै कम देखिएको आर्यनको कमेडी पाटोलाई यसमा भरपूर देखाउन निर्देशक भुटियाले कम्मर कसेका छन् ।
'तान्द्रो', 'अनागत', 'सुस्केरा' र 'साढे सात' फिल्म निर्देशन गरिसकेका उनले यो फिल्मको छायांकन सुरु गरिसकेका छन् । आर्यनले भने केही दिनमा सुटिङ सेट ज्वाइन गर्नेछन् । श्रीमती सपना भण्डारी गर्भवती भएका कारण उनी केही दिन श्रीमतीसँग समय विताउन चाहन्छन् । हालै सिक्किमबाट फिल्म 'हजार जुनीसम्म' को छायांकन भ्याएर उनी राजधानी फिरेका हुन् ।
निर्देशक भुटियासहित फिल्मको जम्बो टिम भने छायांकनका लागि काठमाडौंबाट नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित मार्फा गाउँ प्रस्थान गरिसकेको छ । फिल्म कलाकार भोलाराज सापकोटा र आर्यनको वरिपरि घुम्नेछ । एजिएल इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो ।
'चच हुई' लाई अमृत घले लामाले निर्माण गर्दैछन् । फिल्ममा संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संयूक्त संगीत रहनेछ । फिल्ममा निर्माण टिमले आर्यनको अपोजिटमा अभिनेत्री मिरुना मगर फाइनल गरेको छ । 'लालपूर्जा' बाट अभिनय यात्रा आरम्भ गरेकी उनको पछिल्लो रिलिज फिल्म 'रोज' हो । चाँडै तेस्रो फिल्म 'साइनो' प्रदर्शनमा आउँदैछ ।

