Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फिल्म ‘स्टार पावर’ ले होइन ‘कन्टेन्ट’ ले चल्छ : अनमोल

मनिष अन्जान, काठमाण्डौ, 2019/02/28
पछिल्लो छिमलका सर्वाधिक डिमान्डेड, महँगा र चर्चित अभिनेता हुन् अनमोल केसी । शहरिया युवापुस्तामा उनको क्रेज लोभलाग्दो छ । यही कारण नै हो उनले मागे जति पारिश्रमिक दिन फिल्ममेकर्स तयार छन्/हुन्छन् । अनमोलको नामले नै फिल्म चल्छ भन्ने मान्यता उनीहरुमा छ । र, यो देखिएको पनि छ । ‘कृ’ छाड्ने हो भने उनी अभिनीत कुनै फिल्मले निर्माताको अनुहारको रंग बिगारेको छैन ।
 
 
केही समययता उनले ५० लाख पारिश्रमिकको अफर आएका अनगिन्ती फिल्म लत्याइसकेका छन् । उदाहरणको रुपमा 'ब्याचलर बन्टी' लाई लिन सकिन्छ । रोल चित्त नबुझेको भन्दै ५० लाख आसपास पारिश्रमिकमा साइन गरेको उक्त फिल्म उनले नगर्ने निर्णय लिए । उनी आफ्नो करिअरमा पैसाले अर्थ नराख्ने बताउँछन् । उनी भन्छन्, 'म ल्यान्डमार्क फिल्म गर्न चाहन्छु ।' 
 
अहिले नयाँ फिल्म 'क्याप्टेन' को पब्लिसिटीमा उनको दौडधुप छ । फागुन १७ गते (भोली) बाट प्रदर्शनमा आउन लागेको फिल्ममा उनी एक राष्ट्रियस्तरको फुटबल खेलाडीको भूमिकामा छन् । उनको चरित्रको नाम 'इशान' हो । डेब्यू फिल्म 'होस्टेल' देखि उनी प्रायः लभर ब्वाईकै भूमिकामा बढी देखिए । उनी भन्थे पनि- 'मैले केही वर्षपछि लभर ब्वाईको भूमिका गर्छु भनेर पाउँदिनँ । त्यसैले अहिले दर्शकले जुन भूमिकामा मलाई रुचाएका छन् त्यही गर्छु ।'
 
 
अब भने उनी लभर ब्वाईकै छविमा रुमलिरहन चाहन्नन् । उनी केही वर्षयता एकै किसिमको भूमिका गर्दागर्दा आजित भइसकेका छन् । हालै पत्रकारसँगको एक भेटमा उनी सुनिए, 'पहिलाको ट्रेन्ड र अहिलेको ट्रेन्डमा धेरै परिवर्तन भइसकेको छ । पहिला कमर्शियल फिल्म विक्थ्यो भने अहिले दर्शकहरु पनि स्मार्ट भइसकेका छन् । अहिले कन्टेन्ट भएको फिल्म मात्र विक्छ ।' उनका अनुसार, 'क्याप्टेन' कन्टेन्टका कारण शक्तिशाली छ । 
 
गत वर्ष प्रदर्शनमा आएको फिल्म 'कृ' पछि आफूले चरित्रलाई बुझ्न थालेको उनको भनाइ छ । उनले भने- 'कृ' पछि मैले क्यारेक्टरमा 'वर्क' गर्न थालेको हुँ । त्योभन्दा अगाडि म जे हो त्यसरी नै प्रस्तुत हुँदै आएको थिएँ ।' उनी 'क्याप्टेन' बाट आफ्नो फिल्ममा कन्टेन्ट हुँदैन भन्ने आरोपबाट मुक्त हुनेमा पनि विश्वस्त छन् । फिल्ममा नेशनल हिरोको रोल निभाउन पाएकोमा उनले गौरवान्भित महशुस गरेका छन् । 
 
 
अनमोल अभिनयले भन्दा चकलेटी लुक्स र स्टारडमको प्रशंसामा रमाइरहेको टिकाटिप्पणी हुन थालेको वर्षौ भइसक्यो । अभिनयको हिसाबले पाँच फिल्म गरिसके पनि उनले अभिनयमा दर्शकले खोजेजस्तो निखारता ल्याउन नसकेको कतिपयको आरोप छ । उनी भने आफूले अभिनयमा मेहनत गरिरहेको बताउँछन् । 'म अझै सिकिरहेको छु । अभिनयमा मेहनत गरिरहेको छु र मेहनत गर्न कहिल्यै छाड्ने छैन', उनी सुनिए । 
 
पछिल्लो समय नेपाली फिल्मको सिनारियो हेर्ने हो भने कन्टेन्टमा होमवर्क नपुगेका स्टारका फिल्मले पनि हावा खाइरहेका छन् । एक उदाहरण अभिनेता प्रदीप खड्काको 'रोज' हो । आफ्नै प्रतिस्पर्धी अभिनेताको पछिल्लो फिल्म बक्सअफिसमा असफल भएपछि अनमोलको मनको भित्री तहमा पनि डरले डेरा जमाउन थालेको छ । यद्यपि, उनलाई 'क्याप्टेन' को कन्टेन्टमाथि पूरा भरोसा छ । 
 
 
स्टारडमले फिल्म चल्छ ? भन्ने पत्रकारको प्रश्नमा केहीबेर घोत्लिएपछि उनी अगाडि भन्छन्, 'स्टार पावरले बज क्रियट गर्न र ओपनिङ मात्र दिने हो । फिल्म चल्ने भनेको त कन्टेन्टले नै हो । हलिउड/बलिउडकै उदाहरण लिने हो भने पनि ठूला-ठूला स्टारको फिल्म कन्टेन्ट कमजोर हुँदा चलेका छैनन् । मलाई लाग्छ फिल्म चल्नलाई स्टारडमको होइन कन्टेन्टको ठूलो हात हुन्छ ।' 
 
स्कूले जीवनमा कहिल्यै फुटबलको पछाडि नदौडिएका अनमोल फिल्म 'क्याप्टेन' मा फुटबल खेलाडीको भूमिका निभाउन निकै गाह्रो भएको अनुभव सुनाउँछन् । उनले फुटबल खेलाडी हरि खड्काबाट तीन महिना एन्फा ग्राउण्डमा तालिम समेत लिएका थिए । उनी आफूले एक फुटबल खेलाडीको भूमिका न्यायपूर्वक निभाउनका लागि कडा मेहनत गरेको बताउँछन् । 
 
 
दीवाकर भट्टराई निर्देशित फिल्म 'क्याप्टेन' मा उनको कोचको भूमिकामा अभिनेता प्रशान्त ताम्राकार छन् । उनले दुई डेब्यू गर्ल उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग रोमान्स गरेका छन् भने सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको एक गीतमा भुवन केसी र निरुता सिंहले ठुम्का लगाएका छन् । 
 
तश्बिर : विवेक बस्याल
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)