सुपरस्टार अनमोल केसीलाई यतिबेला चटारो छ । किनकि, उनी अभिनीत छैटौं फिल्म 'क्याप्टेन' यही शुक्रवार र सातौं फिल्म 'ए मेरो हजुर ३' चैत २९ मा रिलिज हुँदैछ । यसअघि हरेक वर्ष एक मात्र फिल्म गर्ने र रिलिज हुने गरेता पनि यस वर्ष उनका दुई फिल्म डेढ महिनाको अन्तरमा रिलिज हुन लागेका छन् । फिल्म 'क्याप्टेन' रिलिज लगत्तै उनी 'ए मेरो हजुर ३' को प्रमोसनमा जुट्दैछन् ।
डेब्यू फिल्म 'होस्टेल' देखि रिलिजको तयारीमा रहेको दुई फिल्म 'क्याप्टेन' र 'ए मेरो हजुर ३' सम्म अनमोलले अहिलेसम्म कुनै नायिकासँग दोहोर्याएर काम गरेका छैनन् । सबैमा उनको जोडी नयाँ हिरोइनसँग बाँधिएको छ । उनीसँग काम गरेका मध्ये 'ड्रिम्स' मा अभिनय गरेकी साम्राज्ञी आरएल शाह अहिलेकी सबैभन्दा महँगी र डिमान्डेड अभिनेत्री हुन् ।

आफूसँग जोडी बाँधेका हरेक हिरोइनहरुको प्रशंसा गरेर नथाक्ने अनमोल केही दिनयता 'क्याप्टेन' गर्ल उपासना सिंह ठकुरी र प्रियंका एमभीको अभिनयबाट आफू प्रभावित भएको भन्दै हिँडिरहेका छन् । यो फिल्ममा उपासना निर्माता भुवन केसीकी अघोषित श्रीमती जिया केसीको रोजाइ हुन् । भने, प्रियंकालाई अनमोलले छनोट गरेको चर्चा छ । उनीहरुले एउटै स्कूलमा अध्ययन गरेका थिए ।
'क्याप्टेन' सँगै अनमोलले आफ्नो नयाँ फिल्म 'ए मेरो हजुर ३' बाट डेब्यू गरेकी सुहाना थापाको पनि प्रशंसा गर्न छाडेका छैनन् । सुहाना निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी हुन् । अनमोलले पहिलो पटक 'स्टार किड्स' सँग काम गरेका हुन् । उनले सुहानाले इन्डस्ट्री हल्लाउने दाबी गरेका छन् । सुहानाको भविष्य सुन्दर रहेको उनी बताउँछन् ।
एक भेटमा पत्रकारसँग गफिँदै अनमोलले भने- 'झरना दिदीले सुहानालाई त्यत्तिकै लिएर आउनु भएको छैन । एकदमै ट्रेन्ड गराउनुभएको छ । उनमा पनि इन्डस्ट्रीमा केही गरुँ भन्ने चाहना छ ।' उनी सुहानालाई मेहनती भन्न पनि रुचाउँछन् । हालै युट्युब रिलिज टिजरले 'ए मेरो हजुर ३' को लोभलाग्दो हाइप निर्माण गरेको छ । केही दिनमा फिल्मको गीत सार्वजनिक हुँदैछ ।

