यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट सुखद डेब्यू गरेका अभिनेता धिरज मगर आइकोर फिल्मस्को सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेलमा अनुबन्ध हुने सम्भावना प्रवल देखिएको छ । ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने फिल्ममा उनलाई लिन अहिले टिमभित्र छलफल भइरहेको स्रोत बताउँछ ।
खासमा ‘इन्टु मिन्टु लण्डनमा’ सहित धिरजले आइकोर फिल्मस्को तीन फिल्म गर्ने सम्झौता गरेका थिए । जसअन्तर्गत उनले चाँडै ‘इन्टु मिन्टु...’ फेम्ड निर्देशक रेनाशा वान्तवा राईसँगै फिल्म ‘आई एम ट्वान्टिवान’ पनि गर्दैछन् । तेस्रो प्रोजेक्ट ‘मेरो एउटा साथी छ २’ हुनसक्ने बताइएको छ । रेनाशाले पनि धिरज हुने प्रवल सम्भावना रहेको बताइन् ।
 (2)(1)(2).jpg)
उनले भनिन्, ‘धिरजलाई लिने तयारी चाहिँ भइरहेकै हो । तर, स्क्रिप्ट तयार नभएसम्म हो नै चाहिँ भनिहाल्न मिल्दैन । हेरौं के हुन्छ ।’ रेनाशा आइकोर फिल्मस्का मालिक प्रभु सम्सेर राणाका छोरा प्रज्जवलसँग प्रेममा छिन् । यही ब्यानरले बनाएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाटै उनले निर्देशनमा डेब्यू गरेकी थिइन् । भने, ‘मेरो एउटा साथी छ’ बाट कोरियोग्राफरको रुपमा ब्रेक पाएकी थिइन् ।
सुदर्शन थापा निर्देशित ‘मेरो एउटा साथी छ’ मा दर्शकले निकै रुचाएको जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ प्रमुख भूमिकामा थिए । दोस्रो सिक्वेलमा पनि दर्शकले उनीहरुलाई नै हेर्न इच्छा व्यक्त गरेका छन् । तर, निर्माण टिमले सिक्वेलमा उनीहरुलाई दोहोर्याउने सोच बनाएको छैन । फिल्ममा आर्यनको ठाउँ धिरजले लिने सम्भावना बलियो हुँदै गएको छ ।

