
सन् २००९ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल 'नोभेम्बर रेन' फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने कन्फर्म भएको छ । केही दिनयता निर्माण कम्पनी आइकोर फिल्मस्को तर्फबाट प्रज्जवल शम्सेर राणा र निर्देशक राउतबीच लगातार छलफल भइरहेको थियो ।
मंगलवार दिउँसो निर्माता र निर्देशकबीच कागजी सम्झौता भएको हो । यो फिल्मको पहिलो भागमा राउत असिस्टेन्टको रुपमा थिए । 'प्रेमगीत' फेम्ड निर्देशक सुदर्शन थापाले निर्देशन गरेका थिए । उनको यो डेब्यू निर्देशन थियो । अब यो फिल्मको सिक्वेलमा असिस्टेन्टले निर्देशनमा सुदर्शनलाई रिप्लेस गरेका छन् ।
निर्देशक राउतले लेखेकै कथामा फिल्मको सिक्वेल निर्माण हुनेछ । हाल उनी कथा लेखनमा व्यस्त छन् । फिल्ममा लिड कलाकारको भने टुंगो लागेको छैन । ‘मेरो एउटा साथी छ’ मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको जोडी बाँधिएको थियो । सिक्वेलमा यो जोडी दोहोरिने सम्भावना न्यून रहेको स्रोत बताउँछ ।
पछिल्लो रिलिज फिल्म ‘प्रसाद’ को सफलताबाट दंग निर्देशक राउत लभस्टोरी फिल्म बनाउन सिपालु मानिन्छन् । उनले आर्यन र नम्रतालाई लिएर 'नोभेम्बर रेन', 'क्लासिक' जस्ता सम्झनलायक लभस्टोरी फिल्म बनाइसकेका छन् । अब ‘मेरो एउटा साथी छ २’ मा फेरि उनीहरुबीच टिमअप हुन्छ वा हुँदैन ? त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

