अभिनेता राजेश हमाल र भुवन केसीको एक जमाना नेपाली फिल्ममा दबदबा थियो । एक्सन र पारिवारिक फिल्मबाट हमाललाई फुर्सद हुँदैन थियो । भने, लभस्टोरी फिल्म गरेर अभिनेता केसीलाई भ्याइनभ्याइ हुन्थ्यो । त्यसबेला उनीहरुलाई एकअर्काका प्रतिस्पर्धी पनि भन्ने गरिन्थ्यो । उनीहरुबीच 'को नम्बर वान ?' भन्ने प्रतिस्पर्धा रहेको अझै पनि सिनेवृतमा चर्चा हुन्छ ।
दुईले नेपाली फिल्ममा राज गरिरहेको अवस्थामा निर्देशक शोभित बस्नेतले राजेश र भुवनसँगै शिव श्रेष्ठ र जल शाहलाई लिएर फिल्म 'राजु राजा राम' बनाएका थिए । यो दुई दशक अगाडिको सुपरहिट फिल्म हो । यो फिल्मपछि भुवन र राजेशले 'चोर सिपाही' मा पनि काम गरे । तर, यसमा दुई एउटै फ्रेममा भने अटेका थिएनन् । यसपछि भने उनीहरुले कहिल्यै साथमा काम गरेनन् ।
केही वर्षयता दुईबीच वाकयुद्ध रहेको चर्चा सिनेवृतमा छ । भुवनले आफ्नो होम प्रोडक्सनको फिल्म 'सुपरस्टार' अभिनेता हमाललाई अप्रोच गरेका थिए । तर, उनले नमानेपछि अभिनेता दीलिप रायमाझीको इन्ट्री भएको थियो । हालै एक भेटमा अभिनेता भुवनले यो कुराको खुलासा गरेका हुन् । उक्त फिल्म गर्न नमानेपछि भुवन, राजेशसँग असन्तुष्ट रहेको बताइन्छ ।
तर, सोमवार वर्षौपछि दुई समकालिन अभिनेताको भेट भयो, चर्चित टिभी सो 'को बन्छ करोडपति ?' को सेटमा । आउँदो हप्ता प्रशारण हुने एपिसोडमा हमालले सोधेको प्रश्नको उत्तर दिन हट सिटमा भुवन र फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'क्याप्टेन' का अभिनेता अनमोल केसी बसेका थिए । अभिनेत्रीत्रय निरुता सिंह, उपासना सिंह ठकुरी र प्रियंका एमभी भने हौसला दिन पछाडि बसेका थिए ।
एपिसोडको छायांकनपछि पत्रकारसँग गफिँदै अभिनेता हमालले भुवनसँग धेरैपछि भेट भएकोमा खुसी व्यक्त गरे । उनले भुवन निर्मित फिल्म 'क्याप्टेन' लाई सफलताको शुभकामना दिँदै आफू पनि फिल्म हेर्न आतुर रहेको बताए । अन्तर्वार्ता दिन साथमा बसेका दुबैलाई पत्रकारले प्रश्न गरे, 'एक समय तपाईंहरुबीच प्रतिस्पर्धा थियो नी हैन ?' हमालले आफूहरुबीच कहिल्यै प्रतिस्पर्धा नभएको बताए ।
उनले भने- 'भुवनजीसँग मेरो केको प्रतिस्पर्धा ? हाम्रो फिल्म क्षेत्र जतिसुकै सानो भए पनि सबैजना अटाउँछौं । यत्रो वर्ष काम गर्दा उहाँ आफ्नै तरिकाले काम गरिरहनु भएको थियो म आफ्नै तरिकाले काम गरिरहेको थिएँ । हामी दुबै आ-आफ्नो ट्रयाकमा खुसी थियौं । हामीबीच कहिल्यै प्रतिस्पर्धा थिएन ।' उनको कुरामा भुवनले पनि सही थपे । उनले भने- 'हामी कलाकार हौं प्रतिस्पर्धी होइनौं ।'
हमालको छेवैमा बसेर पहिलो पटक अन्तर्वार्ता दिँदै गर्दा केही नर्भस देखिएका अभिनेता अनमोलले भने दुई सुपरस्टारसँग स्टेज र साथमा अन्तर्वार्तामा दिन पाउनु आफ्नो लागि सौभाग्यको कुरा भएको बताए । उनले भने- 'उहाँहरु (राजेश हमाल र भुवन केसी) फिल्म इन्डस्ट्रीको पिल्लर हुनुहुन्छ । हामीले त वरिपरि बुट्टा भर्ने काम मात्र गरिरहेका छौं । उहाँहरु नभएको भए फिल्म इन्डस्ट्री नै हुँदैन थियो ।'

