Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

अनमोलभन्दा दुईवर्ष कान्छा राजेश हमाल !

फिल्मीखबर, काठमाण्डौ, 2019/02/26
पहिलो पटक महानायक राजेश हमालले आफ्नो समकालिन अभिनेता भुवन केसीका छोरा अनमोल केसीसँग स्टेज साझेदारी गरेका छन् । हमालले आफ्नो चर्चित टिभी सो 'को बन्छ करोडपति ?' का लागि सोमवार खिचिएको एक एपिसोडमा फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'क्याप्टेन' को टिमलाई क्विच खेलेर करोडपति बन्न बोलाएका थिए । 
 
'केबीसी' को सेटमा फिल्मका अभिनेता अनमोलको साथमा अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री निरुता सिंह पुगेका थिए । हमालले सोधेको प्रश्नको उत्तर दिन बाबु-छोरा हट सिटमा बस्दा निरुताले भने पछाडि बसेर हौसला दिइरहेकी थिइन् । भुवन र अनमोलले खेलेको 'को बन्छ करोडपति ?' को एपिसोड अर्को हप्ता एपिवान टिभीमा प्रशारण हुनेछ । 
 
 
एपिसोडको छायांकन पश्चात् 'क्याप्टेन' टिमसँग अभिनेता हमालले पत्रकारसँग केही रमाइलो कुराकानी पनि गरे । उनले प्रदर्शनको तयारी रहेको फिल्म 'क्याप्टेन' लाई सफलताको शुभकामना दिँदै भने- 'उहाँहरुको उपस्थितिले 'को बन्छ करोडपति ?' मा थप रौनकता थपिएको छ । हाम्रो टिम उहाँहरुप्रति आभारी छौं ।' बाबु र छोराको जोडी दमदार रहेको भन्दै उनले प्रशंसा पनि गरे । 
 
भुवनले भने 'को बन्छ करोडपति ?' मा सोधिएको प्रश्नको उत्तर दिँदा एसएलसीको परिक्षाको दिन सम्झिएछन् । 'एसएलसीको परिक्षा दिँदा मनमा जस्तो डर हुन्थ्यो त्यस्तै भयो । तर, एकदमै रमाइलो भयो र पुरस्कार पनि जित्यौं', उनले भने । अभिनेता अनमोलले भने बाबु-छोराले कति पुरस्कार जितेको जान्न चाहिँ 'केबीसी' को आउँदो एपिसोड हेर्न आग्रह गरे । 
 
उनले देशका तीन सुपरस्टार (राजेश, भुवन र निरुता) सँग एउटै स्टेज साझेदारी गर्न पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताए । हमालको छेवैमा बसेका कारण केही नर्भस देखिएका उनले भने- 'यो क्षण म आफूलाइ कति भाग्यमानी महशुस गरिरहेको छु भन्ने शब्दमा बयान गर्न पनि सक्दिनँ ।' यस्तैमा समकालिन सेलिब्रेटीलाई लिएर गेम खेल्दाको पहिलो अनुभव हमालबाट सञ्चारकर्मीले जान्न खोजे । 
 
 
उनले निकै ठट्यौली शैलीमा आफ्नो समकालिन भुवन र निरुता नभएर अनमोल रहेको बताए । उनको यस्तो जवाफले भुवन, अनमोल र निरुताले हाँसो रोक्न सकेनन् । तर, उनले भुवनसँग वर्षौपछि भेट भएकोमा खुसी व्यक्त गरे । दशक अगाडि उनीहरुले 'राजु राजा राम' र 'चोर सिपाही' मा सँगै काम गरेका थिए । ह्याट्रिक गर्नुपर्छ जस्तो लाग्दैन ? पत्रकारको प्रश्नमा हमालले भुवनलाई सोधे- 'अनमोल र मेरो पिताको भूमिका तपाईं गर्नुहुन्छ ?'
 
भुवनले पनि नयाँ फिल्ममा राजेश आफ्नो ठूलो छोरा र अनमोल कान्छो छोरा भएर काम गर्ने तयारी भइरहेको ठट्यौली जवाफ दिए । तर, हमालले आफू कान्छो छोरा रहेको बताए । उनले भने- 'अनमोलभन्दा त म दुई वर्ष कान्छो नै हुँ ।' अन्तर्वार्ताको क्रममा उनले छेवैमा रहेकी निरुताको पनि प्रशंसा गर्न भ्याए । निरुताको कमब्याकलाई लिएर उनले भने- 'उहाँको आगमनले त ओइलिएका पहिलाका फूलहरु फूल्न थाल्छन् । निभेका बत्तिहरु बल्न थाल्छन् ।'
 
निरुताले पनि हमालको प्रशंसा गर्न छाडिनन् । 'म त राजेशदाई र भुवनदाईहरुको फिल्म हेरेर हुर्किएको हुँ । राजेशदाईको पहिलो फिल्म 'युगदेखि युगसम्म' आउँदा दार्जेलिङतिर नेपालमा पनि चंकी पाण्डेजस्तो हिरो रहेछ भन्थे । पछि उहाँसँगै काम गर्ने मौका पाएँ', उनले सुनाइन् । उनले हमालसँग पहिलो फिल्म 'चमत्कार' गरेकी थिइन् । अनमोलले भने हमाललाई पहिलो पटक ट्वाइलेटमा देखेका रहेछन् । 
 
 
कुराकानीको क्रममा भुवनले हमाललाई नाती/नातिना खेलाउन दिन आग्रह गरे । हमालले फेरि ठट्यौली शैलीमा दुई हात जोड्दै भुवनको छेउमा टाउको पुर्‍याउँदै भने- 'भुवन बुबा म प्रयास गरिरहेको छु । समय खेर फ्यालिरहेको छैन ।' हमालले आफ्नो कुरा नसक्दै अनमोलले भने- 'सबै दर्शक फेरि दुई सुपरस्टारलाई एउटै फिल्ममा हेर्न चाहन्छन् । र, म पनि निकै आतुर छु ।' 
Most Visited News (monthly)