समाचारको शिर्षक पढेर नझुकिनु होला, युवास्टार प्रदीप खड्काले लगनगाँठो कस्न लागेका होइनन् । ‘शुभ विवाह’ उनको नयाँ फिल्मको नाम हो । यो टाइटलमा निर्माण हुने फिल्ममा उनी लगभग फाइनल भइसकेका छन् । साइन भने गरेका छैनन् । केही दिनमा उनी यो प्राजेक्टमा औपचारिक रुपमा भित्रने खबर प्राप्त छ ।
विशेष स्रोतका अनुसार, ‘शुभ विवाह’ लाई ‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । यद्यपि, यसको औपचारिक जानकारी भने प्राप्त भएको छैन । केही दिनयता प्रदीप र सुरेन्द्रबीच फिल्मलाई लिएर लगातार छलफल भइरहेको छ । निर्देशक रामबाबु गुरुङसँगको प्रोजेक्ट ‘बेला’ अबेला हुने भएपछि प्रदीपले सुरेन्द्रको फिल्म अगाडि गर्ने सोच बनाएका छन् ।

केही दिन अगाडि मात्र फिल्मीखबरसँग कुराकानी गर्दै निर्देशक गुरुङले स्क्रिप्ट तयार हुन ढिला हुने भएकाले प्रदीपले ‘बेला’ भन्दा अगाडि निर्देशक पौडेलको फिल्म गर्न सक्ने सम्भावना रहेको बताएका थिए । दुईबीच मौखिक सहमती भए पनि कागजी सम्झौता भने नभएको उनको भनाइ थियो । खबरअनुसार, ‘शुभ विवाह’ मा प्रदीप र सुरेन्द्रको टिमअप हुन लागेको हो ।
'रोज' को असफलतापछि गौणजस्तै भएका उनी केही दिनयता भने हाइपमा छन् । चैत २२ गते उनी अभिनीत नयाँ फिल्म 'लभ स्टेशन' रिलिज हुँदैछ । यो फिल्मको 'घाम जून' गीत युट्युबमा रिलिज भइसकेको छ । अहिले फिल्मको डबिङको अन्तिम चरणमा काम भइरहेको छ । यसमा प्रदीपले 'लिलिबिली' गर्ल जसिता गुरुङसँग रोमान्स गरेका छन् ।
अभिनेता प्रदीप केही दिनयता प्रदर्शनको तरखरमा रहेको फिल्म 'लभ स्टेशन' ले भन्दा साइन गरेका र गर्ने तयारीमा रहेको फिल्मका कारण चर्चामा छन् । 'रोज' पछि 'ब्याक टू ब्याक' फिल्म साइन गर्नुले उनी हतारिएको टिप्पणी पनि सुरु हुन थालेको छ । हतारिएका हुन् वा राम्रो प्रोजेक्ट हातमा उम्काउन नचाहेका हुन् ? त्यो भने उनी नै जान्दछन् । तर, दर्शक भने कन्फ्यूज हुन थालेका छन् ।

