अभिनेतामा अहिलेका 'हटकेक' प्रदीप खड्कासँग काम गर्न भनेपछि युवतीहरु हुरुक्कै हुन्छन् । जो हिरोइन बन्ने सपना बोकेर बसेका छन्, उनीहरुका लागि प्रदीपसँग काम गर्न पाउनु भनेको करिअरले रफ्तार समात्नु हो । उनीसँग काम गरेका केही हिरोइनको करिअर लोभलाग्दो भएको पनि छ । 'प्रेमगीत' अभिनेत्री पूजा शर्मा र 'लिलिबिली' अभिनेत्री जसिता गुरुङ एक उदाहरण हुन् ।
तर, प्रदीपसँग काम गर्दैमा भाग्य बलिहाल्ने चाहिँ पक्कै होइन । यदी यसो हुन्थ्यो भने 'प्रेमगीत २' हिरोइन अश्लेषा ठकुरीलाई यतिबेला भ्याइनभ्याइ हुनुपर्थ्यो । 'रोज' का दुई अभिनेत्री मिरुना मगर र परमिता आरएल राणालाई फिल्मको ओहिरो लाग्नुपर्थ्यो । तर, यसो भएको छैन । बुझ्न के आवश्यक छ भने करिअरले रफ्तार लिन अभिनय उम्दा हुनुपर्छ, जोडी को भन्ने कुराले खासै अर्थ राख्दैन ।
बेलायतबाट हिरोइन बन्नकै लागि नेपाल आएकी अभिनेत्री मिरुना मगरले सौगात मल्ल र विपिन कार्की स्टारर फिल्म 'लालपूर्जा' बाट अभिनय यात्रा आरम्भ गरिन् । रिलिजपूर्व फिल्म राम्रो चल्ने अनुमान फिल्मपण्डितहरुको थियो । तर, नतिजा विपरित आयो । फिल्म चलेन मात्र मिरुनाको अभिनयलाई पनि दर्शकले प्रशंसा गरेनन् । बरु, सुन्दरताले चाहिँ धेरैलाई पगाल्यो ।
(1).jpg)
डेब्यू फिल्म सुपरफ्लप भएपछि अब हातमा फिल्म पर्ने/नपर्ने अन्योलताका बीच उनले चान्स पाइन् फिल्म 'रोज' मा अभिनेता प्रदीप खड्कासँग काम गर्ने । सुरुमा प्रदीपले उनलाई नलिन टिमलाई आग्रह गरेपनि साइन भइसकेका कारण उनको केही सिप लागेन । अन्ततः फिल्ममा दुईको जोडी बाँधियो । मिरुनालाई पनि विश्वास थियो प्रदीपको स्टारडमले फिल्म चल्छ र आफ्नो पनि हिट हिरोइन हुने सपना पूरा हुन्छ ।
तर, दुर्भाग्य ! 'रोज' पनि बक्सअफिसमा चिप्लियो । यतिसम्मकी फिल्ममा काम गरेको पारिश्रमिक समेत अहिलेसम्म कलाकारले पाएका छैनन् । चलेका कलाकारहरुसँग काम गर्दा पनि सफलताबाट बञ्चित हुनु परेपछि अहिले मिरुनालाई 'अनलक्की' नायिका भन्न थालिएको छ । तर, उनी आफूलाई 'अनलक्की' नायिका मान्दिनन् । फिल्ममा काम गर्ने बेला आफूले व्यापार नहेर्ने उनको भनाई छ ।
सोमवार फिल्म 'साईनो' को गीत सार्वजनिक कार्यक्रममा उपस्थित उनलाई पत्रकारले प्रदीप खड्कासँग काम गर्दा पनि भाग्य बलेन है ? भन्ने प्रश्न गरे । उनले कडै जवाफ फर्काइन्- 'प्रदीपसँग काम गर्दैमा कसैको भाग्य बल्दैन । फेरि प्रदीपले कसैको भाग्य बाल्नका लागि काम गर्ने पनि होइन । अनि, मलाई लाग्दैन कि कोहीसँग काम गर्दैमा भाग्य बल्छ ।'
कतै 'रोज' असफल भएपछि प्रदीपसँग काम गर्दैमा भाग्य चम्किन्छ भन्ने विश्वास उनको गुमेको त होइन ? मिरुनाको कुरा सोझो हिसाबले बुझ्ने खालको छैन । प्रदीपसँग काम गरे करिअरले रफ्तार लिने सोच पालेका युवतीहरुमाथि उनको निशाना पनि हुनसक्छ ! जे भए पनि उनले प्रदीपसँग काम गरेर करिअरका लागि भने खासै ठूलो उपलब्धि हात पार्न भने सकिनन् ।

