Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोललाई प्रश्नः घरको फिल्ममा कति पारिश्रमिक ?

फिल्मीखबर, काठमाण्डौ, 2019/02/24
‘सुपरस्टार’ बाट ‘मेगास्टार’ मा दर्शकले बढुवा गरेका अभिनेता अनमोल केसी अहिले हाइपमा छन् । कारण, उनी अभिनीत छैटौं फिल्म ‘क्याप्टेन’ यही शुक्रवारबाट प्रदर्शनका लागि तयार छ । यसमा उनी राष्ट्रिय हिरो अर्थात् फुटबल खेलाडीको भूमिकामा छन् । फिल्ममा अनमोल नेपाली फुटबल टिमका कप्तान ईशान खड्काको भूमिकामा रहेका छन् । 
 
 
स्कूल जीवनमा कहिल्यै फुटबल नखेलेता पनि उनको मनपर्ने खेल हो फुटबल । फिल्ममा फुटबल खेलाडीको भूमिका न्यायपूर्वक निभाउनका लागि उनले एन्फा मैदानमा पूर्व क्याप्टेन हरि खड्काबाट प्रशिक्षण समेत लिएका थिए । 'क्याप्टेन' आफ्नो लागि 'एक्सपेरिमेन्टल' फिल्म रहेको बताउने उनले क्यारेक्टरमा काम गर्न १२ केजी तौल पनि घटाएका थिए । 
 
बाहिरी ब्यानरका फिल्ममा ४० देखि ५० लाखसम्म पारिश्रमिक बुझ्ने अनमोलले घरको फिल्म अर्थात् काजल फिल्मस्को ब्यानरमा बन्ने फिल्ममा चाहिँ कति पारिश्रमिक बुझ्छन् होला ? धेरैका लागि चासोको विषय यो हो । 'ड्रिम्स', 'कृ' पछि 'क्याप्टेन' मा उनका पिता भुवन केसीको लगानी छ । के घरको फिल्ममा काम गर्दा पनि उनले पारिश्रमिक पाउँछन् ? 
 
स्पष्ट र 'डिप्लोम्याटिक' जवाफ दिन सिपालु अनमोलले एक भेटमा ‘घरकी मुर्गी दाल बराबर’ भन्दै जवाफ दिए । त्यसो भए सुक्को पैसा पाउनुहुन्न ? पत्रकारको प्रश्नमा उनले अगाडि भने- 'फिल्मले कमाएको पैसा त जसरी पनि घरमै आउने हो । तर, पनि 'ड्रिम्स' हिट भएपछि बुबा (भुवन केसी) ले डुकाटी बाइक उपहार दिनुभएको थियो ।' 
 
गाडीभन्दा बाइकका सौखिक अनमोल 'क्याप्टेन' हिट भएको खण्डमा पिताबाट फेरि गिफ्टको अपेक्षा रहने बताए । 'म बुबासँग गिफ्ट चाहिँ माग्दिनँ । उहाँ आफैंले सम्झेर/बुझेर दिनुहुन्छ । उहाँले जे दिनुहुन्छ त्यो मेरो लागि अमूल्य उपहार हो', उनले भने । ‘क्याप्टेन’ ले कति पैसा कमाउँछ भन्दा पनि आफ्नो चरित्र दर्शकले रुचाउँछन् कि रुचाउँदैनन् भन्नेमा आफू चिन्तित रहेको उनले बताए । 
 
 
बाबुको सपना साकार गर्न हिँडेको एक मध्यमवर्गीय परिवारको ईशानले देशका लागि गोल्ड मेडल जित्नका लागि के-कस्ता चुनौतीहरुको सामना गर्नुपर्छ भन्ने कथामा फिल्म ‘क्याप्टेन’ आधारित छ । यसमा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । यस फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । 
Most Visited News (monthly)