Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठ ३ः ‘वीरविक्रम २’ र ‘प्रेम दिवस’ को भिडन्त

फिल्मीखबर, काठमाण्डौ, 2019/02/24
वर्षमा सय बढी फिल्म प्रदर्शनमा आउँछन् तर मुश्किलले तीनदेखि चारओटा फिल्म मात्र हिट हुन्छन् । दुईदेखि तीन फिल्मले जेनतेन लगानी सुरक्षित गर्दछन् । नभए बाँकी अधिकांश फिल्मले त लगानीको आधा प्रतिशत त टाढाको कुरा भित्तामा टाँस्नका लागि तयार पारिएको पोस्टरको पैसा समेत उठाउँदैन । हरेक वर्ष निर्माताहरुको करीब एक अर्बको लगानी बालुवामा पानी हालेझैँ भइरहेको छ । 
 
तर, पनि न फिल्म निर्माणको संख्यामा कमी आएको छ न त हरेक साता दुईभन्दा बढी रिलिज हुने परम्परा नै तोडिएको छ । यस वर्षकै कुरा गर्ने हो भने बैशाखदेखि फागुन दोस्रो सातासम्ममा ८० बढी फिल्म रिलिज भइसकेका छन् । तर, 'नाइँ नभन्नू ल ५', 'छक्का पञ्जा ३' र 'जय भोले' मात्र बक्सअफिसमा सुपरहिट साबित भए ।  'प्रसाद', 'चंगाचेट' र 'रामकहानी' ले भने मुश्किलले लगानी 'रिकभर' गरे । 
 
एकै हप्ता दुईभन्दा बढी फिल्म रिलिज हुने गरेका कारण पनि नेपाली फिल्मले खासै राम्रो व्यापार गर्न नसकेको बहस हुँदै आएको छ । हुन पनि, धेरै फिल्म एकसाथ रिलिज हुँदा दर्शक र हल संख्या बाँडिन्छ र त्यसको प्रत्यक्ष प्रभाव बक्स अफिसमा पर्छ । तर, यहाँ कतिपय निर्माताहरु प्रतिसोध साध्न फिल्म जुधाइरहेका हुन्छन् । चलचित्रकर्मीहरुको हकहितका लागि गठन भएका संघसंस्थाहरु जुधाइको रमित हेरेर मज्जा उठाइरहेका छन् । 
 
 
यस वर्ष 'रामकहानी' र 'रोज' को भिडन्तले सिनेवृत गर्मायो । यही फागुन १७ मा 'क्याप्टेन' र 'द ब्रेकअप' भिड्दैछन् । भने, चैत २९ मा निकै आश गरिएका 'ए मेरो हजुर ३' र 'यात्रा' एकअर्कासँग भिड्न तयार छन् । 'रिलिज वार' यस वर्षका लागि मात्र सीमित छैन । अर्को वर्षको जेठ ३ मा पनि ठूलै भिडन्त हुने छनक देखिएको छ । कारण, यो मितिमा दर्शक र फिल्म क्षेत्रले निकै आश गरेका दुई फिल्म भिड्ने तय भएको छ । 
 
ती दुई फिल्म हुन्- ‘वीरविक्रम २’ र ‘प्रेम दिवस’ । यो डेट सबैभन्दा अगाडि योगेश घिमिरे निर्देशित फिल्म ‘प्रेम दिवस’ ले रोजेको हो । शुक्रवार मात्र निर्देशक मिलन चाम्स निर्देशित ‘वीरविक्रम २’ ले पनि सो मितिमा फिल्म रिलिज गर्ने निर्णय गर्‍यो । रोचक कुरा त यी दुबै फिल्म लभस्टोरी जनराका हुन् । दुबै फिल्ममा नाम चलेका कलाकारहरुको प्रमुख भूमिका छ । 
 
फिल्म ‘वीरविक्रम २’ मा पल शाह, नाजिर हसेन र वर्षा सिवाकोटी लिड रोलमा छन् । यो फिल्मको 'पिरतीको मिठो तिर्स'ना बोलको गीत यतिबेला चर्चामा छ । हिट फिल्म ‘वीरविक्रम’ को सिक्वेल भएका कारण पनि यो फिल्मप्रति दर्शकको चासो अलि बढी नै छ । ‘प्रेम दिवस’ मा भने 'रियल' जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको प्रमुख भूमिका छ ।
 
जेठ ३ आउन अझै केही महिना बाँकी भएका कारण दुईमध्ये कुनै एक फिल्मको रिलिज पोस्टपोन्ड हुन सक्ने र दुई फिल्मको भिडन्त हुने सम्भावना दुबै प्रवल छ । तर, ‘वीरविक्रम २’ र ‘प्रेम दिवस’ एकसाथ प्रदर्शनमा आएको खण्डमा व्यापारिक घाटा दुबै फिल्मले सहनु पर्नेछ । मात्र धेरथोरको कुरा हो । भिडन्त भएको अवस्थामा भने कुन कति पानीमा हुनेछ ? यसका लागि भने अझै केही समय प्रतिक्षा गर्नै पर्ने हुन्छ ।
Most Visited News (monthly)