Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिलन र प्रदीपको मित्रता, देखावटी कि वास्तविक ?

फिल्मीखबर, काठमाण्डौ, 2019/02/23
नेपाली फिल्ममा कोही शत्रु र मित्र हुँदैन भन्ने चलन छ । नेपाली फिल्मको परिवेशमा यो भनाई निकै चरितार्थ हुँदै आइरहेको छ । यहाँ न सम्बन्ध गाँसिन समय लाग्छ न टुट्न नै । सम्बन्ध गाँसिने र टुट्ने क्रम यहाँ दैनिक भइरहन्छ । धेरै सम्बन्ध त स्वार्थका लागि पनि गाँसिएका हुन्छन् । कति निस्वार्थ र पवित्र पनि हुन्छन् । 
 
केही दिनयता निर्देशक मिलन चाम्स र अहिलेका चल्तीका लेखक प्रदीप भारद्वाजबीच सम्बन्ध चिसिएको चर्चा सिनेवृतमा चल्न थालेको छ । यसको प्रमुख कारण मिलनले 'ब्याचलर बन्टी' नगर्ने निर्णय लिनुलाई मानिएको छ । अभिनेता अनमोल केसीले फिल्म नगर्ने निर्णय लिएपछि चाम्सले पनि निर्देशन नगर्ने उद्घोष गरेका थिए । फिल्मको कथा प्रदीपको थियो । 
 
फिल्म नगर्ने अडान लिएपछि अहिले लेखक भारद्वाज निर्देशक चाम्सबाट दूरीको सम्बन्ध बनाएर 'ब्याचलर बन्टी' निर्माता सुदीप खड्कासँग नजिक छन् । केही दिनयता उनीहरु प्रायः साथमा नै देखिँदै आएका छन् । 'ब्याचलर बन्टी' को स्क्रिप्टमा नै अहिले सुदीपले नयाँ निर्देशकसँग नयाँ नाममा फिल्म बनाउँदैछन् । उनलाई लेखक प्रदीपले साथ दिएका छन् । 
 
फिल्म 'लिलिबिली' मा निर्माता गोविन्द शाहीसँग किचलो भएपछि मिलन, सुदीप र प्रदीप एक भएका थिए । यसपछि 'ब्याचलर बन्टी' मा टिमअप भएको थियो । तर, यो फिल्म नगर्ने भन्दै चाम्सले हात झिकेपछि उनीसँग लेखक भारद्वाज र निर्माता सुदीप असन्तुष्ट रहेको बताइन्छ । यसको झलक शुक्रवार अभिनेता पल शाहको जन्मदिन सेलिब्रेशन कार्यक्रममा पनि देखियो । 
 
 
साँझ साढे ६ बजे पुतलीसडकको 'क्याफे एभिन्यू' मा निर्देशक चाम्सभन्दा अगाडि नै लेखक भारद्वाज पुगेका थिए । करीब ७ बजे मिलन पनि पुगे । दुईले हात मिलाए । तर, बोलचाल भएन । पल आफ्नो जन्मदिनका लागि तयार पारिएको केक काट्न लागे । निर्देशक चाम्ससहित वर्षा सिवाकोटी र नाजिर हुसेनले उनलाई साथ दिए । तर, लेखक प्रदीप देखिएनन् । 
 
जब निर्देशक चाम्सले फिल्म 'वीरविक्रम २' को प्रदर्शन मिति जेठ ३ लाई घोषणा गरे तब लेखक भारद्वाज क्याफेको पूर्वतिर रहेको ढोका खोलेर बाहिर निस्किए । जबकि, उक्त फिल्मको कथा उनले नै लेखेका हुन् । फिल्मको प्रदर्शन मिति घोषणा गर्दैगर्दा न चाम्सले लेखकलाई सम्झिए न प्रदीप नै त्यो खुसीमा सहभागी भए । आखिर किन ? पत्रकारको प्रश्न चाम्सलाई सोझियो ।  
 
पत्रकारको प्रश्नपछि चाम्सका आँखाले प्रदीपलाई खोजे तर देखेनन् । उनले आफूहरुबीच कहिल्यै सम्बन्ध नविग्रिएको र नविग्रने दाबी गरे । उनले भने- 'हाम्रो सधैं भेट भइरहेको हुन्छ । मैले राईटरहरुमा सबैभन्दा धेरै मान्ने मध्ये उहाँ पर्नुहुन्छ । हाम्रो जस्तो दोस्ती सायद कसैको छैन होला ।' तर, उनको प्रशंसा सुन्न साथमा प्रदीप थिएनन् । 
 
पलको 'बर्थडे सेलिब्रेसन' सकिएपछि फेरि झुलुक्क देखिए, प्रदीप । र, उनीसँग अंकमाल गर्दै पत्रकारलाई निर्देशक चाम्सले भने- 'ल हेर्नुस् है हाम्रो सम्बन्ध विग्रिएको छैन ।' अंकमाल गर्दैमा दुईबीच मित्रता प्रगाढ छ भनेर विश्वास गर्न सकिन्न । यहाँ देखावटीका लागि पनि अंकमाल गर्ने गरिन्छ । मिलन र प्रदीपको मित्रता चाहिँ देखावटी हो वा वास्तविक ? त्यो भने उनीहरु नै जान्दछन् । 
Most Visited News (monthly)