Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अनमोल र प्रदीपको फिल्ममा पल भिलेन बन्न तयार !

फिल्मीखबर, काठमाण्डौ, 2019/02/23
विभिन्न कालखण्डमा नेपाली फिल्ममा समकालिन अभिनेताहरुले एकसाथ काम गरेका छन् । एक समय एकअर्काका कडा प्रतिस्पर्धी मानिने राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठले साथमा फिल्म 'राजु राजा राम' गरेका थिए । राजेश र भुवनले त 'चोर सिपाई', 'परिभाषा' लगायतका फिल्ममा पनि एकसाथ काम गरे । एक्सन स्टार निखिल उप्रेती र विराज भट्टले पनि केही फिल्म सँगै गरेका छन् । 
 
 
केही वर्षयता नेपाली फिल्ममा अनमोल केसी, प्रदीप खड्का र पल शाहको दबदबा छ । उनीहरुलाई एकअर्काका प्रतिस्पर्धी भनिने गरिन्छ । अब यी तीन स्टार्सलाई पनि एकसाथ एउटै फिल्ममा हेर्ने दर्शकको ठूलो इच्छा छ । प्रदीपले हालै आफूसँग दुई अभिनेता चाहिने एक कन्सेप्ट रहेको र चाँडै अनमोलसँग कुरा गर्ने बताएका थिए । अनमोलले पनि प्रदीपसँग काम गर्न आफू तयार रहेको बताइसकेका छन् । 
 
 
यसबीच अभिनेता पलले पनि अनमोल र प्रदीपसँग काम गर्न आफूलाई पनि इच्छा रहेको बताएका छन् । शुक्रवार साँझ सञ्चारकर्मी दिनेश सिटौलाको पुतलीसडकमा रहेको 'क्याफे एभिन्यू' मा जेठ ३ गते प्रदर्शनमा आउने आफू अभिनीत फिल्म 'वीरविक्रम २' को टिमसँग आफ्नो जन्मदिन मनाउँदै उनले अनमोल र प्रदीपसँग आफू साथमा काम गर्न सधैं तयार रहेको बताए । 
 
 
निर्देशक मिलन चाम्सलाई 'वीरविक्रम २' को सेटमा नै पलले आफूलाई अनमोल र प्रदीपसँग एउटै फिल्ममा खेल्ने इच्छा सुनाएका रहेछन् । चाम्सले भने- 'पलले त बरु म भिलेन र कमेडी कलाकार बन्नु परे पनि तयार छु भनेको थियो । हामी तीनजना सँगै काम गर्न पाए कस्तो हुन्छ होला भनेर सोधेको थियो । उसमा आफू मात्र नम्बर वान हुनुपर्छ भन्ने घमण्ड छैन ।' 
 
 
नेपाली फिल्म इन्डस्ट्रीलाई गर्व गर्न लायकको स्थानमा पुर्‍याउन अहिले दर्शकले रुचाएका कलाकारहरुबीच सहकार्य आवश्यक रहेको पलले औंल्याए । अनमोल, प्रदीप र आफू एउटै फिल्ममा हुने सम्भावना असम्भव भने नभएको उनको भनाइ छ । उनले भने- 'म अनमोल र प्रदीपसँग आँखा चिम्लिएर काम गर्न तयार छु । मलाई विश्वास छ हामीबीच चाँडै टिमअप हुनेछ ।' 
 
 
उनले 'शत्रु गते' को सेटमा हास्यकलाकार दीपकराज गिरीले भनेको एउटा कुरा पनि साझेदार गरे । 'हास्यकलाकारहरुको सहकार्य फलदायक रहेको अवस्थामा तिमीहरु (अनमोल, प्रदीप र पल) पनि सहकार्य गर, हाम्रो फिल्मले भन्दा राम्रो व्यापार गर्न सक्छ भनेर दीपक दाईले भन्नुभएको थियो ।  मलाई पनि लाग्छ म, प्रदीप र अनमोलले साथमा फिल्म गर्नुपर्छ', उनी सुनिए ।
Most Visited News (monthly)