करीब २ वर्ष अगाडि प्रदर्शनमा आएका दुई फिल्म 'बागमती' र 'सकुुन्तला' अपेक्षाकृत नभएपछि अभिनेता राजेश हमालले काँचको पर्दाबाट केही टाढाको दूरी बनाएका छन् । यी दुई उनले निकै आशा गरेका फिल्म थिए । अब फिल्मबाट केही समय 'ग्याप' लिने सोच उनको छ । फिल्म नगरे पनि स्क्रिप्ट भने पढिरहेको बताउँछन्, उनी ।
अब केही फरक फिल्मबाट कमब्याक गर्ने उनको तयारी छ । 'महानायक' को उपमा पाएका हमालले आफ्नो जमानामा ३ सय बढी फिल्ममा अभिनय गरेका थिए । एक समय उनलाई फिल्ममा लिएपछि निर्माताको लगानी सुरक्षित हुने पक्का जस्तै हुन्थ्यो । दर्शकहरु पनि उनका हरेक फिल्मको प्रतिक्षामा हुन्थे ।
.jpg)
तर, अहिले समयले कोल्टे फेरेको छ । एक समय हमालका फिल्मको दर्शकलाई प्रतिक्षा हुन्थ्यो भने अहिले अनमोल केसी, प्रदीप खड्का जस्ता नयाँ छिमलका अभिनेताको हुन्छ । यद्यपि, नेपाली फिल्म क्षेत्रमाआफ्नो करियर बनाउन चाहनेका लागि उनी 'आइकन' हुन् । चलचित्रकर्मीहरु मात्र नभएर अझै पनि बच्चादेखि वृद्धसम्मका ‘फेभरेट’ अभिनेता हुन् हमाल ।
उनका फिल्म नहेरेका व्यक्ति नेपाली समाजमा भेट्न असम्भव छ । ड्यासिङ पर्सनालिटी, लामो कपाल, अग्लो कद र बोल्ड भ्वाइसले हमालले नेपाली फिल्ममा आफ्नो छुट्टै छाप बनाएका छन् । तर, हमालका भने कोही पनि ‘फेभरेट’ नेपाली अभिनेत्री र निर्देशक छैनन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।
हालै हिमालय टेलिभिजनको 'जीवनसाथी' कार्यक्रममा श्रीमती मधु भट्टराईसँग पुगेका उनले आफूलाई मनपर्ने कुनै नेपाली अभिनेत्री र निर्देशक नभएको बताए । आफूले अभिनय गरेका फिल्ममध्ये चाहिँ उनलाई तुलसी घिमिरे निर्देशित फिल्म 'देउता' मनपर्दो रहेछ । अचेल उनी एपिवानले सञ्चालन गरेको 'को बन्छ करोडपति ?' मा व्यस्त छन् ।
अन्तर्वार्ता पनि हेर्नुहोस् :-

