गएको महिना निर्देशक रामबाबु गुरुङ र युवास्टार प्रदीप खड्काबीच डाक्टर सिंह गुरुङले निर्माण गर्ने फिल्म ‘बेला’ मा टिमअप भएको थियो । यो फिल्मको बैशाख अन्तिमबाट छायांकन सुरु हुने तयारी भएता पनि स्क्रिप्ट फाइनल नभएको भन्दै निर्देशक गुरुङ ‘बेला’ भन्दा अगाडि ‘कबड्डी ३’ गर्दैछन् । यसमा पनि प्रदीपलाई लिन उनी प्रयासरत छन् ।
यसबीच, ५० लाख पारिश्रमिकमा साइन गरेको फिल्म ‘बेला’ बाट निर्देशक गुरुङले बुधबार साँझ हात झिकेको खबर बाहिरिएको छ । उनले उक्त फिल्म आफ्नो जनराको नभएको भन्दै सहमतीमै निर्देशक सुरेन्द्र पौडेललाई थमाएको स्रोतले फिल्मीखबरलाई जानकारी दियो । तर, निर्देशक गुरुङ ‘बेला’ बाट हात झिकेको कुरा गलत रहेको बताउँछन् । उनले बजारु हल्लामा विश्वास नगर्न आग्रह गरे ।
.jpg)
फिल्मीखबरसँग फोनर्वार्तामा भने- 'फिल्म गर्छु भनेर निर्माताबाट पारिश्रमिक बुझिसकेको छु । नगर्ने भन्ने त कुरै आउँदैन नी । हो, तत्काल चाहिँ बन्दैन । किनकि, स्क्रिप्ट फाइनल हुन अझै समय लाग्छ । त्यसैले पहिला ‘कबड्डी ३’ गर्छु अनि प्रदीपसँग ‘बेला’ गर्छु ।' उनले ‘बेला’ पछाडि सरेका कारण प्रदीपले निर्देशक पौडेलको एक फिल्म भने गर्न सक्ने बताए ।
निर्देशक रामबाबुले भने- ‘‘बेला’ केही पछाडि सरेपछि मैले नै प्रदीपलाई स्क्रिप्ट राम्रो लागे निर्देशक पौडेलको फिल्म गर भनेर आग्रह गरेको थिएँ । प्रदीपलाई स्क्रिप्ट मन परेको छ । दुईबीच मौखिक सहमती पनि भएको छ तर सम्झौता चाहिँ हुन बाँकी छ । तर, ‘बेला’ सुरेन्द्रले निर्देशन गर्ने चाहिँ होइन । दुई फरक प्रोजेक्ट हुन् ।’’
सुरेन्द्रले यसअघि अभिनेता अनमोल केसीलाई लिएर ‘कृ’ बनाएका थिए । अब उनी प्रदीपलाई लिएर फिल्म बनाउन कसिएका छन् । गएको महिना फिल्मीखबरसँग कुराकानी गर्दै सुरेन्द्रले आफूले प्रदीपलाई एक फिल्म अप्रोच गरेको बताएका थिए । उनले भनेका थिए, ‘म प्रदीपसँग काम गर्न इच्छुक छु अब उहाँले गर्नुहुन्छ वा हुन्न त्यो थाहा भएन ।’

