Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

अनमोलसँग फिल्म गर्दै प्रदीप ?

फिल्मीखबर, काठमाण्डौ, 2019/02/20
नामै काफी छ, नेपाली फिल्मका दुई नक्षेत्र प्रदीप खड्का र अनमोल केसी । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने युवापुस्तालाई हलसम्म डोर्‍याउन यी दुई स्टारको ठूलो योगदान छ । अहिले नेपाली फिल्ममा प्रदीप र अनमोलकै साम्राज्य छ भन्दा सायद गलत नहोला । सर्वाधिक चर्चा यी दुईकै छ र डिमान्ड पनि । धेरैले त उनीहरुलाई नेपाली फिल्मका सलमान खान र शाहरुख खान समेत भन्ने गर्दछन् । 
 
धेरै भएको छैन उनीहरुले नेपाली फिल्ममा आफ्नो बर्चश्व कायम गर्न थालेको । करीब ६ वर्ष अगाडि 'होस्टेल' बाट अनमोल चम्किए । भने, 'प्रेमगीत' ले प्रदीपलाई स्टार बनायो । अहिले दुबैलाई एकअर्काका प्रतिस्पर्धी भन्ने गरिन्छ र दुईबीच ‘को नम्बर वान ?’ भन्ने लडाइँ रहेको चर्चा पनि हुँदै आएको छ । तर, अनमोल र प्रदीप आफूहरुबीच स्वच्छ प्रतिस्पर्धा रहेको बताउँदै आएका छन् । 
 
यस वर्ष 'एनएफडिसी अवार्ड' मा पहिलो पटक आमने-सामने भएका थिए उनीहरु । मिडियाले एकसाथ तश्बिर खिचाउन आग्रह गरेपछि दुईले अंकमाल गर्दै केहीबेर कानेखुसी पनि गरेका थिए । यसपछि चर्चा हुन थाल्यो अब उनीहरुबीच स्टारडमको लडाइँ सकियो । तर, उनीहरुलाई प्रतिस्पर्धी बनाउन मिडियाले अझै छाडेको छैन । यसले उनीहरुका प्रशंसकबीच पनि तिक्तता बढेको बढ्यै छ । 
 
 
केही हप्ता अगाडि प्रदीपले अनमोल अभिनीत फिल्म 'क्याप्टेन' को ट्रेलर आफ्नो आधिकारिक फेसबुकमा साझेदार गर्दै प्रशंसा गरेका थिए । उनले अनमोल र आफूलाई दाजु-भाई समेत भने । त्यसको एक हप्तापछि अनमोलले पनि कमेन्ट गर्दै प्रदीपलाई धन्यवाद दिँदै फिल्म 'लभ स्टेशन' का लागि शुभकामना दिए । उनीहरुले एकअर्काप्रति देखाएको सम्मानले चलचित्रकर्मी मात्र होइन उनीहरुका प्रशंसकहरु पनि दंग छन् । 
 
यसपछि फेरि सुरु भयो सिनेनगरीमा अनमोल र प्रदीपको मित्रताको चर्चा । केहीले उनीहरुको मित्रतालाई देखावटीको नाम दिए । केहीले सकारात्मक प्रयासको रुपमा लिए । तर, अब उनीहरु दुबैका प्रशंसक चाहन्छन् अनमोल र प्रदीप सँगै एउटै फिल्ममा देखिउन । दर्शक अहिले यही प्राथना गरेर बसिरहेका छन् । यसबीच प्रदीपले अनमोलसँग चाँडै फिल्ममा सहकार्य हुने सक्ने संकेत दिएका छन् । 
 
चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'लभ स्टेशन' को पखाईमा रहेका उनले हालै एक भिडियो अन्तर्वार्ताको क्रममा ढिलोचाँडो भए पनि अनमोल र आफू एउटै फिल्ममा देखिने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, 'मसँग एउटा कन्सेप्ट छ, जसमा दुई एक्टर चाहिन्छ । अहिले हामी दुबै आ-आफ्नो काममा व्यस्त छौं त्यसले भेट हुन पाएको छैन । चाँडै यस विषयमा कुरा हुनेछ ।'
 
आफूहरुबीच स्वच्छ प्रतिस्पर्धा रहेको बताउँदै उनले अनमोल र आफूलाई एउटै फिल्ममा हेर्ने चाहना दर्शकहरुको पनि रहेको सुनाए । उनी भन्छन्, 'भेट एकदम कम भएको छ तर अनमोल र मबीचमा एकदमै राम्रो 'फ्रेण्डसिप' छ । हामीहरु एकअर्काका प्रशंसक हौं । हामी दुबै एउटै फिल्ममा आउनु पर्छ भन्नेमा म मानसिक रुपमा तयार छु र उहाँ पनि सकारात्मक हुनुहुन्छ होला ।'
 
नेपाली फिल्मका दुई समकालिन सुपरस्टार एउटै फिल्ममा देखिएको खण्डमा फिल्मप्रेमी दर्शकलाई मात्र होइन समग्र फिल्म क्षेत्रका लागि पनि यो ठूलो खुसीको कुरा हुनेछ । अब यो साइत चाहिँ कहिले जुर्ने हो ? प्रतिक्षा गर्नुको शिवाय अरु विकल्प छैन । कामना गरौं, अनमोल र प्रदीपबीच चाँडै सहकार्य होस् । 
Most Visited News (monthly)