.jpg)
सञ्चारकर्मी, गायिका, मोडल, अभिनेत्री हुँदै कोमल वली अचेल राजनीतिक क्षेत्रमा लागेकी छिन् । राप्रपा छाडेर नेकपा एमाले (हाल नेकपा) प्रवेश गरेकी उनी अहिले राष्ट्रियसभा सांसदकी सदस्य हुन् । राजनीतिबाट नै देश परिवर्तन हुने विश्वासका साथ राजनीतिमा होमिएकी उनी आफू सधैं देश र जनताको भावना अनुसार काम गर्ने बताउँछिन् ।
'पोइला जान पाम शिव' बोलको तीजको गीतबाट चर्चामा आएकी अविवाहित कोमलले करीब एक दशक अगाडि एक फिल्ममा अभिनय समेत गरेकी थिइन् । अभिनेता राजेश हमाल स्टारर फिल्म 'राजनीति' मा उनको प्रमुख भूमिका थियो । तर, यो फिल्म बक्सअफिसमा असफल ठहरियो । यसपछि कोमलले फिल्म गर्ने जोखिम उठाइनन् ।
मंगलवार 'राजनीतिक' का निर्देशक बसन्त निरौलाले सञ्चालनमा ल्याएको ‘सिने इक्यिूपमेन्ट हाउस’ को उद्घाटनमा पुगेकी उनले आफ्नो डेब्यू फिल्मप्रति कसिलो व्यंग्य गर्न छाडिनन् । आफूलाई बसन्तकी हिरोइन भन्दै उनले भनिन्, ‘‘राजनीति’ हलमा यस्तो हिट भयो कि चार दिनमा नै हलबाट उत्रियो ।’’ उनको यो व्यंग्यात्मक टिप्पणीले छेवैमा रहेका निर्देशकले समेत हाँसो रोक्न सकेनन् ।
फिल्मको राजनीतिकभन्दा पार्टीगत राजनीति ठिक हुने ठानेर आफू राजनीतिमा होमिएको उनको भनाई छ । उनले राजनीतिबाट फिल्म क्षेत्रको विकास र समृद्धिका लागि आफू सधैं प्रतिबद्ध रहेको पनि बताइन् । कोमल भन्छिन्, 'फिल्म क्षेत्रको विकासका लागि मेरो साथ र सहयोगको खाँचो परेको खण्डमा म सधैं तयार रहनेछु ।'

