हलिउड/बलिउडमा समीक्षकले प्रशंसा गरेका फिल्म दर्शकले पनि औधी रुचाउने गरेका छन् । तर, नेपालको सन्दर्भमा उल्टो छ । नेपालमा समीक्षकले उच्च रेटिङ दिएका धेरै फिल्मले हलमा हावा खाएका छन् । 'हरी', 'नाका', 'गोपी' जस्ता धेरै फिल्म छन्, जसलाई समीक्षकले त रुचाए तर दर्शकलाई पिटिक्कै मन परेन । अर्थात् यो भनौं दर्शकको मनमा बस्न सफल भएनन् ।
नेपालमा चार रेटिङ पाएका फिल्मले हलबाट ४ लाख कलेक्सन गर्न सक्दैनन् । तर, दुई रेटिङ पाएका फिल्मले घरेलु बजारमा करोडौं छापेका उदाहरण छन् । किन समीक्षक र दर्शकको हेराइ र बुझाइ फरक ? केही समययता नेपाली फिल्म क्षेत्रमा यो बहसको विषय बनेकोे छ । फिल्म, समीक्षक कि दर्शकका लागि बनाउने ? भन्ने प्रश्न अहिले गहन हो ।
(1).jpg)
शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’ ले समीक्षकबाट प्रशंसाको ओहिरो पाएको छ । समीक्षकले दुई-चार ठाउँमा औंला उठाए पनि समग्रमा ‘बुलबुल’ लाई यस वर्षको सर्वोत्कृष्ट फिल्म भनेका छन् । भूमिका र अभिनयको कोणबाट ‘बुलबुल’ स्वस्तिमाको करिअरको उत्कृष्ट फिल्म पनि भनेका छन् ।
कथा पस्किने शैली कलात्मक रहेको भन्दै समीक्षकले प्रशंसा गर्दैगर्दा फिल्मलाई दर्शकबाट भने मिश्रित प्रतिक्रिया आइरहेको छ। राम्रो/नराम्रो दुबै भन्ने दर्शकको संख्या लगभग बराबर छ । क्लाइमेक्ससँग दर्शक बढी असन्तुष्ट छन् । फिल्म अत्यन्त 'स्लो' भएको प्रतिक्रिया पनि धेरै छ । तर, निर्देशक विनोद पौडेल भने दर्शक प्रतिक्रयाभन्दा समीक्षकको प्रशंसाबाट दंग छन् ।
यो फिल्म प्रदर्शनमा आएको पाँच दिन (आजसहित) भइसकेको छ । निर्माताले फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छैनन् । किन गरेनन् ? त्यो उनले नै जान्दछन्, तर एउटा सत्य चाहिँ के हो भने फिल्मको कलेक्सन अंक सुनाउन लायक छैन । मल्टिप्लेक्समा विदेशी दुई फिल्म ‘गल्ली ब्वाई’ र ‘एलिटा’ को चेपुवामा परेको छ । सिंगल ‘स्क्रिन’ मा दर्शक उपस्थित औसत छ ।
‘बुलबुल’ मा स्वस्तिमा एक टेम्पो ड्राइभरको भूमिकामा छिन् । महिला टेम्पो ड्राइभरको लुकेको जीवनको भित्री पाटोमा फिल्म केन्द्रित छ । फिल्ममा मुकुन भुषाल, बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे,उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको पनि अभिनय छ । अविरल थापाले फिल्म निर्माण गरेका हुन् ।

