‘भर्सटायल’ अभिनेताको रुपमा परिचित अनुपविक्रम शाहीलाई ‘ह्यान्डसम भिलेन’ को उपनाम दिइएको छ । अग्लो कद र शारीरिक बलका उनले हरेक फिल्ममा प्रायः फरक भूमिकामा अभिनय गरेका छन् । तर, जीवन्त अभिनयका लागि चिनिने उनलाई दर्शकले भने भिलेनको भूमिकामा नै सर्वाधिक रुचाउँछन् । फिल्म ‘कृ’ एक उदाहरण हो ।
‘हँसिया’ बाट नेपाली फिल्ममा भित्रिएका उनले दुई दर्जनको आसपासमा फिल्ममा अभिनय गरिसकेका छन् । केही महिनायता त उनका फिल्म कहिले आउँछन् र जान्छन् अत्तोपत्तो नै हुँदैन । तर, लिड हिरोको रुपमा प्रस्तुत भएका उनका निकै कम फिल्म सफल छन् । भिलेनको भूमिका रहेको फिल्ममा भने उनी भएपछि लिड हिरो नै छायाँमा परेका धेरै उदाहरण छन् ।
अधिकांश फिल्ममेकर्स अनुपलाई भिलेनको भूमिकामा लिन तानातान गरेता पनि फाट्टफुट्ट उनले हिरोको रोल पनि पाइरहेका हुन्छन् । चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'पुरानो बुलेट' मा उनी भिलेनको भूमिकामा छैनन् । हिरो हुन् । फिल्मको मूलकथा नै उनको वरिपरि घुमेको छ । अभिनेत्री द्वय वर्षा सिवाकोटी र माला लिम्बुसँग रोमान्स गरेका छन् ।
.jpg)
फिल्मको आइतबार ट्रेलर रिलिज कार्यक्रममा पत्रकारले अब भिलेनको छवि मेटाएर हिरो भन्न लाग्नुभएको हो ? भन्ने प्रश्न गरे । उनले जवाफ फर्काउन सेकेण्ड पनि लगाएनन् । उनले तुरुन्तै भनिहाले, 'न म हिरो न भिलेन बन्न आएको हुँ । एउटा राम्रो कलाकार बन्न आएको हुँ, दर्शकको मन जित्न आएको हुँ । र, म स्टार बन्न पनि आएको होइन ।'
उनी फिल्म असफलताको दोष कलाकारलाई मात्र दिन नहुने तर्क पनि राख्छन् । फिल्म सफल वा असफल हुनको पछाडि कलाकारको मात्र हात नहुने उनको भनाइ छ । 'फिल्म राम्रो छ भने कलाकार जो भए पनि चल्छ नराम्रो छ भने स्टार कलाकार भए पनि चल्दैन । कलाकारले त दुई दिनमात्र हलसम्म दर्शक तान्न हो', उनले भने ।
उनले आफू अभिनीत फिल्म 'कमलेको बिहे' प्रदर्शनमा नआउनुको विषयमा पनि मुख खोले । अनुपले उक्त फिल्म आफ्नो लागि विशेष भएता पनि निर्माता-निर्माताबीचको आन्तरिक कलहका कारण प्रदर्शनमा आउन नसकेको खुलासा गरे । 'उक्त फिल्मको क्यारेक्टरका लागि मैले निकै मेहनत गरेको थिएँ तर दुर्भाग्य ! प्रदर्शनमा नै आउन सकेन ।'
उनले निर्माताबीचको झगडाका कारण आफूले उक्त फिल्म ल्याउन नसकेकोमा दर्शकसँग माफी पनि मागे । उनले विदेशका विभिन्न ठाउँमा भएको प्रदर्शनबाट भने राम्रो प्रतिक्रिया पाएको बताए । 'कमलेको बिहे' प्रदर्शनमा आउने वा नआउनेमा उनी आफैं अन्योलमा छन् । उनी भन्छन्, 'आउन पनि सक्छ नआउन पनि सक्छ । सम्भावना ५०/५० प्रतिशत छ ।'

