नेपाली फिल्म र भिडियो क्षेत्रमा स्थापित नाम हो पल शाह । फिल्ममा आउनु अगाडि उनको माग र व्यस्तता भिडियोमा थियो । सानो पर्दामा रमाइरहेका जो कोहीलाई पनि ठूलो पर्दामा आफ्नो दबदबा कायम गर्ने इच्छा, चाहना र स्वार्थ हुन्छ । त्यो पलमा पनि थियो । तर, फिल्म मेकर्सको नजरमा पर्न उनले ठूलै संघर्ष गर्नुपर्यो ।
तर, भिडियोबाट कमाएको लोकप्रियता 'क्यास' गर्न भेट्रान निर्देशक विकासराज आचार्यले 'नाईं नभन्नू ल ४' मा उनलाई लिड रोलमा ब्रेक दिए । यो फिल्म सफल भयो । डेब्यु फिल्म बक्सअफिसमा हिट भएपछि कुनै दिन उनलाई फिल्ममा लिन नाक खुम्च्याउने र तर्किने निर्माता/निर्देशकहरु पनि तानातान गर्न थाले ।
दोस्रो फिल्मको रुपमा उनले लभस्टोरी फिल्म निर्देशनमा आफूलाई 'बादशाह' प्रमाणित गरेका सुदर्शन थापाको फिल्म 'म यस्तो गीत गाउँछु' रोजे । दोस्रो फिल्मले पनि सफलता चुम्यो । 'ब्याक टू ब्याक' दुई फिल्म सफल भएपछि उनको चर्चा र डिमान्ड मात्र चुलिएन पारिश्रमिकले पनि आकाश चुम्यो ।
(1)(1).jpg)
उनले पारिश्रमिक यति बढाए कि सुदर्शनले घोषणा गरेको फिल्म 'म यस्तो गीत गाउँछु' को सिक्वेल समेत बनाउन सकेनन् । पलको तेस्रो फिल्म 'जोनी जेन्टलम्यान' ले भने निर्माताको अनुहार बिगार्यो । तर, चौथो फिल्म 'शत्रु गते' बल्कबस्टर साबित भयो । यतिबेला उनी 'वीरविक्रम २' मा व्यस्त छन् ।
यो फिल्मको फाइनल सेड्यूलको छायांकन अहिले बेलायतमा भइरहेको छ । फिल्ममा उनको अपोजिटमा वर्षा सिवाकोटी छिन् । फिल्मका निर्देशक मिलन चाम्स हुन् । यो फिल्म प्याकअप भए लगत्तै उनी २० लाखको आसपास पारिश्रमिक लिएर साइन गरेको निर्देशक सुरज सुब्बाको फिल्म ‘हृदय भरी’ मा व्यस्त हुँदैछन् ।
यस फिल्ममा आफूले निर्वाहा गर्न लागेको चरित्रको बारेमा पलले खुलासा गरेका छन् । उनले ‘हृदय भरी’ मा पोल्ट्रिफार्म सञ्चालन गरेर बसेको एक युवकको भूमिका निभाउन लागेको बताएका छन् । पोल्ट्रिफार्म सञ्चालन गरेर बसेको युवक भए पनि भूमिका भने लभर ब्वाई नै रहेको उनले खुलाए । फिल्मको फागुन २२ गतेबाट छायांकन सुरु हुँदैछ ।

