बेला बखतमा नेपाली कलाकारले फिल्ममा काम गरेको पारिश्रमिक नपाएको गुनासो पोखिरहेका हुन्छन् । केही हप्ता अगाडि फिल्म ‘रोज’ र ‘क्याप्टेन’ का कलाकारहरुले पारिश्रमिक नपाएको खुल्लम खुल्ला बोलेका थिए । ‘क्याप्टेन’ कलाकार राजाराम पौडेलले त पारिश्रमिक नपाएसम्म डबिङ नगर्ने र अरुबाट गराए मुद्धा हाल्ने धम्की समेत दिएका थिए ।
उनले केही दिन अगाडि मात्र निर्माता भुवन केसीको हातबाट पूरा पारिश्रमिक बुझे र डबिङ पनि गरे । प्रदीप खड्कासहित ‘रोज’ का कलाकारहरु भने अझै निर्माताले पारिश्रमिक दिन कहिले बोलाउँछन् भन्दै फोनको प्रतिक्षा गरेका बसेका छन् । यसबीच केही दिन अगाडि अभिनेत्री वर्षा सिवाकोटीले पनि आफू अभिनीत फिल्म ‘पुरानो बुलेट’ बाट आधा पारिश्रमिक नपाएको फिल्मीखबरसँग बताएकी थिइन् ।
.jpg)
फिल्म साइन गर्दा आधा पारिश्रमिक पाए पनि डबिङ सकिँदा समेत बाँकी आधा पारिश्रमिक नपाएको उनको गुनासो थियो । अब पारिश्रमिक पूरा नपाएसम्म फिल्मको पब्लिसिटीमा नहिँड्ने उनले अडान राखेकी थिइन् । तर, केही हप्ता अगाडि फिल्मको पोस्टरका लागि फोटो खिच्ने क्रममा निर्माताबाट बाँकी पारिश्रमिक पाएको उनले बताएकी छन् ।
आइतबार ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक कार्यक्रममा पारिश्रमिक पाउनु भयो त ? भन्ने पत्रकारको प्रश्नमा उनले केही दिन अगाडि मात्र बाँकी पारिश्रमिक बुझेको बताइन् । उनले भने, ‘मलाई केही फिल्मबाट पारिश्रमिक उठाउन साह्रै गाह्रो भएको अनुभव छ । फिल्म घोषणा तामझामले गर्छन् तर अन्तिममा कलाकारलाई पारिश्रमिक नै दिन सक्दैनन् । यस्तो.चाहिँ अलि बढी नयाँ मेकर्समा देखिन्छ ।’
अन्य फिल्ममा डबिङ सकिए लगत्तै पारिश्रमिक बुझ्ने गरेको बताउँदै उनले ‘पुरानो बुलेट’ बाट डबिङ सकिए पनि नपाएका कारण आफूले पारिश्रमिक नपाएको विषयमा बोलेको बताइन् । उनले भनिन्, ‘पारिश्रमिक पाउँछु भन्नेमा चाहिँ शंका थिएन । यो सबै निर्माण टिम र मबीचको असमझदारीका कारण मात्र भएको हो । अहिले सबै ठिक छ ।’

