बक्सअफिसमा सफल नाम होइन अभिनेता कर्मा शाक्य । 'लुट' सिरिज विर्सने हो भने उनी अभिनीत हिट फिल्म सम्झन मुश्किल पर्छ । सम्भवतः छैनन् पनि ! अभिनय 'लाजवाब' हुँदाहुँदै पनि फिल्म छनोटमा चुजी हुन नसक्दा उनले आफ्नो साख हरेक नयाँ फिल्मसँगै गुमाउँदै गएका छन् । यसको पछाडि उनी पैसामुखी भएको कतिपयको ठम्याइ छ ।
अभिनेता आर्यन सिग्देलको दबदबा रहँदै गर्दा नेपाली फिल्ममा उनको उदय भएको थियो । लभस्टोरी फिल्म 'सानो संसार' बाट अभिनय करियर सुरु गरेका उनले एक समय हातमा आएका कुनै फिल्म छुटाएनन् । 'ब्याक टू ब्याक' फिल्म गरिरहे । आर्यनले रिजेक्ट गरेका फिल्म गरेरै उनले आफूलाई अभिनेताको रुपमा स्थापित गराए ।
करीब ७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म 'लुट' बाट उनी निकै चर्चामा आएका थिए । फिल्म बक्सअफिसमा हिट साबित हुँदा उनको माग चर्को भएको थियो । पारिश्रमिक पनि बढ्यो । तर, उनले गुणस्तरमा नभइ संख्यात्मक अभिनयमा जोड दिए । फलतः 'लुट' ले दिलाएको चर्चा गुम्न समय लागेन । अहिले उनका फिल्म भनेपछि दर्शक नाक खुम्च्याउने गर्दछन् ।
(1).jpg)
एक समय फिल्ममा लिन तानातान गर्ने निर्माताहरु अहिले उनलाई लिएर जोखिम उठाउन चाहेका देखिँदैनन् । केही वर्ष अगाडिसम्म सोलो हिरोमा भ्याइनभ्याइ उनी अहिले चरित्र अभिनेतामा खुम्चिनु परेको छ । तर, अझै पनि फिल्म छनोटमा उनी गम्भीर देखिएका छैनन् । पैसाको लोभमा आफूलाई सस्तो बनाइरहेका छन् कर्मा ।
अहिले उनलाई 'फ्लप फिल्मका धनी हिरो' समेत भनिन थालिएको छ । सहायक हिरो रहेको फिल्म होस् वा सोलो हिरो भएको फिल्म नै किन नहोस्, केही वर्षयता उनी अभिनीत फिल्म 'ब्याक टू ब्याक' बक्सअफिसमा पछारिएका छन् । 'पञ्जेबाजा', 'लभ साशा', 'लुकामारी', 'शेर बहादुर', 'रोज' कर्मा अभिनीत तात्ताता फ्लप फिल्म हुन् ।
गएको केही हप्ता अगाडि उनी अभिनीत फिल्म 'गरुड पुराण' रिलिज भएको थियो । यसमा उनको प्रमुख भूमिका थियो । तर, यो फिल्म पनि बक्सअफिसमा 'डिजास्टर' साबित भयो । फिल्म पत्तासाफ मात्र भएन कर्माको पनि जमेरै आलोचना भयो । किनकि, फिल्ममा उनले बोलका संवाद तल्लोस्तरका थिए ।
यो फिल्मपछि उनीप्रति दर्शकको विश्वास झनै गुमेको छ । लभस्टोरीभन्दा कमेडी फिल्म गर्न मन पर्ने बताउने उनी 'गरुड पुराण' मा जस्तै तल्लोस्तरका संवाद बोलेर दर्शक हँसाउने प्रयास गरिरहे एकदिन उनको करियर हेरेर दर्शक हाँस्ने दिन नआउला भन्न सकिन्न ? अब चाहिँ फिल्म छनोटमा गम्भीर हुने होकि कर्माजी ?

