Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दर्पण छाँया’ जस्तै फिल्मको खोजीमा दीलिप

फिल्मीखबर, काठमाडौं, 2019/02/17
एक समय नेपाली फिल्ममा आफ्नो बर्चश्व कायम गरेका अभिनेता दीलिप रायमाझी पछिल्लो समय काँचको पर्दाबाट हराएजस्तै छन् । परिवारसहित अमेरिका हानिएपछि उनको व्यस्तता नेपाली फिल्ममा निकै कम भएको छ । गुणस्तरमाभन्दा संख्यात्मक अभिनयमा जोड दिएको आरोप केही समययता झेल्दै आएका उनी अब फिल्म निर्माणको तयारीमा रहेको चर्चा छ । 
 
'दर्पण छाँया', 'हामी साथी भाइ', 'मुगलान' जस्ता सुपरहिट फिल्मका अभिनेता रायमाझीले फिल्म एकजनाले नभई टिमले गर्दा सफल हुने तर्क राख्छन् । 'छक्का पञ्जा' सिरिजको उदाहरण दिँदै उनले फिल्म सफल हुन कलाकार, निर्माता, निर्देशक, नृत्य, द्वन्द्व र गीतसंगीत सबैको तालमेल राम्रो हुनु पर्नेमा जोड दिए ।
 
 
चलचित्र पत्रकार संघ, नेपाल दाङ शाखाले शनिबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा उनले आफूलाई 'दर्पण छाँया' जस्तै सुपरहिट फिल्म फेरि गर्न मन भएता पनि भनेजस्तो टिम भेटाउन नसकेको बताए । दुई दशक अगाडि प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित यो फिल्म उनका लागि टर्निङ प्वाइन्ट साबित भएको थियो । 
 
अमेरिका बसाईपछि फिल्ममा कमब्याक किन सुखद हुन सकेन ? भन्ने पत्रकारको जिज्ञासामा रायमाझीले भने, 'मैले भनेनी फिल्म म एक्लैले गर्दा सफल हुने होइन । फिल्म भनेको टिमवर्क हो । सायद टिमवर्क राम्रो नभएका कारण मेरा पछिल्ला फिल्म सफल भएनन् ।' उनले आफू तत्काल फिल्म निर्देशन गर्ने सोचमा नभएको पनि स्पष्ट पारे । 
 
'अझै केही समय बाहिरी ब्यानरको फिल्म गर्ने सोच छ । भविष्यमा फिल्म निर्देशन नै गर्दिनँ भन्ने त होइन तर तत्काल म आफैंले निर्देशनको जिम्मेवारी उठाउन तयार भइसकेको छु जस्तो लागेको छैन', उनले भने । उनले आगामी दिनमा टिम र स्क्रिप्ट हेरेर मात्र फिल्म छनोट गर्ने बताए । उनले आफूले निर्माण गर्न लागेको फिल्मको विषयमा भने बोल्न चाहेनन् । 
Most Visited News (monthly)