नेपाली फिल्ममा निकै कम जोडी छन्, जसलाई दर्शकले पटक-पटक स्क्रिनमा हेर्ने चाहना व्यक्त गरिरहेका हुन्छन् । त्यसमध्येको एक सर्वाधिक रुचाइएको पेयरिङ हो अभिनेता अनमोल केसी र अभिनेत्री साम्राज्ञी आरएल शाह । यी दुईले फिल्म 'ड्रिम्स' मा रोमान्स गरेका थिए । यो फिल्म साम्राज्ञीको डेब्यू थियो । भने, भुवन केसीको पहिलो निर्देशित फिल्म थियो ।
'ड्रिम्स' मा उनी अनमोलमाथि नै हाबी भएकी थिइन् । यो फिल्म बक्सअफिसमा सुपरहिट साबित भएपछि उनले करिअर पछाडि फर्किएर हेर्नु परेको छैन । आफ्नो जीवन्त अभिनयले छोटो समयमा नै नेपाली फिल्ममा आफ्नो दबदबा कायम सफल उनी अहिले नवल नेपालको निर्देशनमा बन्न लागेको फिल्म 'मारुनी' मा व्यस्त छिन् ।
.jpg)
केही समय अगाडि फिल्म 'इन्टु मिन्टु लण्डनमा' को विषयमा जानकारी दिन पोखरामा आयोजित एक कार्यक्रममा उनलाई पत्रकारले सोधेका थिए- 'तपाईंलाई हिट हुन फेरि अनमोल केसी नै चाहिएको हो ।' उनले जवाफमा आफूलाई हिरो नभएर हिरोलाई आफू चाहिने अभिव्यक्ति दिइन् । यो कुराले अनमोल र भुवन केसी उनीप्रति रुष्ट रहेको चर्चा सिनेवृतमा छ ।
'ड्रिम्स' पछि केही फिल्ममेकर्सले अनमोल र साम्राज्ञीको जोडी फेरि बाँध्ने प्रयास गरे पनि कहिले साम्राज्ञी त कहिले अनमोलले नकार्दै आएको गाइँगुइँ सुन्न पाइन्छ । शुक्रवार 'मारुनी' को शुभ मुहूर्तमा साम्राज्ञीलाई पत्रकारले अनमोलसँग पेयरिङ फेरि सम्भव छ ? भन्ने प्रश्न गरे । उनले स्क्रिप्ट मन परे आफूलाई अनमोलसँग काम गर्न समस्या नभएको बताइन् ।
भर्खर ब्याचलर पूरा गरेकी उनी अगाडि भन्छिन्, 'अहिलेसम्म प्रस्ताव चाहिँ आएको छैन । यदी प्रस्ताव आएको खण्डमा स्क्रिप्ट राम्रो छ भने म अनमोलसँग काम गर्न सधैं तयार छु ।' उनले फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको अनमोल अभिनीत फिल्म 'क्याप्टेन' को ट्रेलर हेरेको र निकै मन परेको पनि प्रतिक्रिया दिइन् ।

