वर्षौदेखि हलिउड र हलिउड फिल्मका कारण नेपाली फिल्म घरेलु बजारमै चेपुवामा पर्ने गरेका छन् । नेपालमा मल्टिप्लेक्सको विस्तार भएसँगै युवापुस्ताको माग नेपालीभन्दा हलिउड र बलिउड फिल्मको बढी हुने गरेको छ । यसले नेपाली फिल्मको बजारमा दिर्घकालीन प्रभाव पार्ने देखिन्छ । विदेशी फिल्मका कारण स्वदेशी दर्शक नेपाली फिल्म भनेपछि नाक खुम्च्याउन छाडेका छैनन् ।
कैयन् पटक विदेशी फिल्मका कारण थुपै नेपाली फिल्मले हावा खाएका छन् । हलिउड र बलिउडका नाम चलेका स्टारको फिल्म रिलिज हुँदा सकभर नेपाली फिल्म नै रिलिज हुँदैनन् । कारण, घरेलु दर्शकको पहिलो रोजाई अझै नेपाली फिल्म बन्न सकेको छैन । यो हुनुको पहिलो कारण त दर्शकको मनमा बस्न सफल फिल्म निर्माण हुन नसक्नु नै हो । यहाँ झुर फिल्मको बोलबाल बढी जो छ ।
हलिउड र बलिउड फिल्मका कारण नेपाली फिल्म चपेटामा पर्ने गरेको इतिहास फेरि एकपटक दोहोरिएको छ । यस हप्ताको शुक्रवार पनि दुई विदेशी फिल्मको चर्को मारमा परेको छ अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’ । पछिल्लो समय चर्चा र दर्शकको नजरमा परेको फिल्म हो यो । यसमा स्वस्तिमा एक टेम्पो ड्राइभरको भूमिकामा छिन् । गीतसंगीत र ट्रेलरबाटै यो फिल्म प्रतिक्षीत बनेको थियो ।
यस फिल्मलाई स्वदेशी फिल्मको 'थ्रेट' छैन । करीब सोलो जस्तै छ । केही सिंगल स्टेशनमा महादेव त्रिपाठीको ‘जोकर’ रिलिज भएको छ । अधिकांश सिंगल स्टेशन त ‘बुलबुल’ कै कब्जामा छ । अघिल्ला हप्ताका फिल्मको दबाब पनि छैन । तर, निर्माताले सर्वाधिक शेयर हात पर्ने मल्टिप्लेक्सहरुमा भने यो फिल्म हलिउड फिल्म ‘एलिटा’ र बलिउड फिल्म ‘गल्ली ब्वाई’ को चेपुवामा परेको छ ।
बिहीवार नै प्रदर्शनमा आएका दुई बलिया विदेशी फिल्मका कारण ‘बुलबुल’ ले मल्टिप्लेक्समा पर्याप्त सोज पाउन सकेको छैन । यद्यपि, सोज संख्या न्यून पनि छैन । क्युएफएक्सको राजधानी र मोफसलसहित ९ ओटा स्टेशनमा फिल्मले १९ सोज पाएको छ । दुई प्रतिक्षीत विदेशी फिल्मको बाबजुद पनि नेपाली फिल्मले क्युएफएक्स च्यानलमा १९ सोज हात पार्नुलाई सुखद मान्न सकिन्छ ।
राजधानीमा सञ्चालित बिएसआरले ३ सोज, क्यूज सिनेमा/बिग मुभिज/एफक्यूबले समान २ सोज र सिडिसीले फिल्मलाई एक सोज बाँडेको छ । सिंगल 'स्कृन' भने फिल्मलाई पर्याप्त मिलेको छ । विदेशी फिल्मका कारण कम सोज पाएको यस फिल्मलाई ‘माउथ पब्लिसिटी’ को भर छ । दर्शकबाट शुक्रवार र शनिबार सकारात्मक प्रतिक्रिया पाए फिल्मलाई बक्सअफिसमा लामो रेसको घोडा बन्न सहज हुनेछ ।
विनोद पोडेल निर्देशित फिल्ममा मुकुन भुषाल, बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे,उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको पनि अभिनय छ । अविरल थापाले फिल्म निर्माण गरेका हुन् भने कार्यकारी निर्माता रामराजा दाहाल हुन् । यस फिल्मको 'खुद्रा खाद्री माया' यस वर्षको हिट गीतमा पर्छ । फिल्मको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् ।

