.jpg)
सात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाहमा परिणत गरेका छन् । प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन मानिने 'भ्यालेन्टाइन डे' अर्थात् बिहीवार उनीहरुले अग्नीलाई साक्षी गरेर सँगै मर्ने सँगै बाँच्ने कसम खाएका छन् ।
अहिले ‘सन्सा’ जोडीको राजधानीको पाँचतारे होटल र्याडिसनमा दुवैतर्फका परिवारको उपस्थितिमा हिन्दू परम्परा अनुसार विवाह भइरहेको छ । दुईको विवाहको तश्बिर ‘फोटोपसल’ ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरेको छ ।
.jpg)
प्राप्त तश्बिरमा संजोग र वर्षा दुलहा-दुलहीको पहिरनमा निकै आकर्षक देखिएका छन् । तश्बिरमा दुबैलाई खुसी मुद्रामा देख्न सकिन्छ । बैबाहिक समारोहमा उनीहरुका केही निकट चलचित्रकर्मीहरुको पनि उपस्थित छ । शुक्रवार उनीहरुले रिसेप्सन पार्टी दिँदैछन् ।
७ वर्ष अगाडि वर्षा र संजोगको भेट फिल्म ‘सरी ल’ को अडिसनको क्रममा भएको थियो । पहिलो भेटबाटै उनीहरु एकअर्कासँग नजिक भए । उनीहरुले पहिलो पटक एकसाथ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा सँगै काम गरेका छन् । तर, यो फिल्म प्रदर्शनमा आएको छैन ।
.jpg)
वर्षाको नयाँ फिल्म 'गोपी' अहिले हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ । यसअघि उनको 'चौका दाउ' प्रदर्शनमा आएको थियो । अहिले उनी 'जात्रै जात्रा' मा व्यस्त छिन् । अभिनेता संजोग अभिनीत पछिल्लो फिल्म भने 'कथा काठमाण्डू' हो । उनी फिल्ममा भन्दा आफ्नो व्यवसायमा बढी व्यस्त छन् ।

