प्रेमको दिन, प्रेम अभिव्यक्त गर्ने दिन । आफ्नो भावनालाई शब्दमा बयान गर्नका लागि सायद यो दिनको हरेक धड्किएको दिललाई प्रतिक्षा हुने गर्दछ । हामी कुरा गर्दैछौं प्रेम गर्नेहरुका लागि विशेष दिन ‘भ्यालेन्टाइन डे’ को । १४ फेब्रुअरीमा मनाइने यो दिनको विभिन्न देशमा अलग-अलग शैली र विश्वासको साथ मनाउने गरिन्छ ।
.jpg)
चीनमा यो दिनलाई ‘नाइट्स अफ सेभेन्स’ को नामबाट मनाइन्छ । भने, जापान र कोरियामा यो दिनलाई ‘वाइट डे’ को नाम दिइएको छ । यति मात्र होइन, यी देशमा ‘भ्यालेन्टाइन डे’ को दिनदेखि पूरा एक महिनासम्म मानिसहरु आफ्नो प्रेम अभिव्यक्त गर्ने गर्दछन् र एकअर्कालाई गिफ्ट वा फूल दिएर मनको भावना व्यक्त गर्ने गर्दछन् ।
'प्रणय दिवस' को दिन खासगरि प्रेम जोडी एकअकालाई आफ्नो प्रेम भ्यालेन्टाइन कार्ड पठाएर, फूल लिएर वा मिठाई आदी दिएर अभिव्यक्त गर्ने गर्दछन् । यो दिनमा तपाईं आफ्नो पार्टनरप्रति प्रेम दर्शाउन चाहनुहुन्छ भने नेपाली फिल्मका गीत पनि काम आउन सक्छ । नेपाली फिल्ममा थुप्रै रोमान्टिक गीतहरु बनेका छन् ।
आजको दिन अर्थात् ‘भ्यालेन्टाइन डे’ को दिन तपाईं नेपाली फिल्मको प्रेमिल गीतको माध्यमबाट पनि आफ्नो प्रेम भावना अभिव्यक्त गर्न सक्नुहुन्छ । सुन्नुहोस्, यस्ता छन् पाँच नेपाली फिल्मका गीत, जसले बनाउन सक्छ तपाईंको 'प्रणय दिवस' खास ।
१. ‘रहर छ सँगै’
फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'क्याप्टेन' मा समावेश यस गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतमा दिग्गज धौरालीको शब्द रचना छन् । अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहेको गीतको भिडियोमा अनमोल केसी र उपासना सिंह ठकुरी फिचर छन् ।
२. ‘मखमली माया दिउला’
यो गीत अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको प्रमुख भूमिका रहेको फिल्म 'उपकार' मा समावेश छ । दुई दशक अगाडि प्रदर्शनमा आएको यस फिल्मको गीत अझै लोकप्रिय छ । गीतमा उदितनारायाण झा र साधन सरगमको स्वर छ भने रञ्जित गजमेरले संगीत भरेका छन् ।
३. ‘म यस्तो गीत गाउँछु’
सुदर्शन थापा निर्देशित तथा प्रदीप खड्का र पूजा शर्मा अभिनीत फिल्म 'प्रेमगीत' मा समावेश 'म यस्तो गीत गाउँछु' मा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । गीतका शब्द अर्जुन पोखरेलले लेखेका हुन् भने संगीत पनि उनी स्वयंले भरेका छन् ।
४. ‘मायाको बारीमा’
अभिनेता भुवन केसी र तृप्ती नदाकर अभिनीत फिल्म 'कुसुमे रुमाल' मा समावेश कालझैं 'मायाको बारीमा' गीतमा उदितनारायण झा र दीपाझाको स्वर छ । गीतका रचनाकार रञ्जित गजमेर हुन् । गीतमा उनकै संगीत सुन्न सकिन्छ ।
५. ‘यी आँखामा तिमी छौ’
विकासराज आचार्य निर्देशित हिट फिल्म 'नाईं नभन्नू ल २' मा समावेश चर्चित गीत 'यी आँखामा तिमी छौ' मा गायक प्रेम परियारले आफ्नो सुमधुर आवाज भरेका छन् । कृष्णहरी बराल र प्रभा बरालको शब्द रचना रहेको गीतमा बसन्त सापकोटा र सुरेश गैरेको संगीत छ ।

