अभिनेता अनमोल केसीकी आमा सुस्मिता बम्जनले निर्माण गरेको फिल्म 'म त तिम्रै हुँ' बाट अभिनय करियर सुरु गरेका चकलेटी अभिनेता आकाश श्रेष्ठ अचेल सुदर्शन थापाको निर्देशनमा बनिरहेको फिल्म 'सम्हालिन्छ कहिले मन' मा व्यस्त छन् । यो फिल्मको अहिले लण्डनमा छायांकन भइरहेको छ । अधिकांश छायांकन लण्डनमा नै हुनेछ ।

फिल्ममा आकाशले दोस्रो पटक अभिनेत्री पूजा शर्मासँग रोमान्स गर्दैछन् । यसअघि यो जोडी अभिनीत फिल्म 'रामकहानी' बक्सअफिसमा हिट साबित भएको थियो । उक्त फिल्ममा पूजा र आकाशको जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए । 'सम्हालिन्छ कहिले मन' मा सोनम तोप्देन पनि लिड रोलमा छन् ।
संख्यात्मक हिसाबले यो फिल्म अभिनेता आकाशको छैटौं हो । तर, 'रामकहानी' बाहेक कुनै फिल्मले उनलाई सफलताको उचाइमा पुर्याएनन् । यसैले त पुनः सुदर्शनले फिल्म अफर गरेपछि उनले साइन गरिसकेको फिल्म 'वीरविक्रम २' समेत छाडे । करिअरको 'पिक आवर्स' मा अन्य निर्देशकसँग काम गरेर उनी जोखिम मोल्न चाहेका देखिँदैनन् ।
फिल्म छनोटमा चुजी हुँदै गएका आकाश आफ्नो फिटनेसमा पनि निकै सचेत छन् । हरेक दिन उनी २ घण्टा जिममा पसिना बगाउँछन् । उनको फिटनेसले फिल्ममा जम्न पनि राम्रो साथ दिएको छ । उनले लण्डनमा पनि जिम एक्सरसाइज गर्न छाडेका छैनन् । लण्डनमा उनले 'जिम पार्टनर' बलिउडका ‘खुंखार भिलेन’ मुकेश ऋषिसँग वर्कआउट गर्ने गरेका छन् ।
आकाशले मुकेशलाई आफ्नो जिम पार्टनर भन्दै फेसबुकमा एक तश्बिर साझेदार गरेका छन् । सय बढी फिल्ममा भिलेनको भूमिका निभाएका मुकेश केही वर्षयता काँचको पर्दाबाट टाढा छन् । ६० वर्षको उमेरमा पनि एकदम फिट देखिने उनको फिटनेस टिप्सलाई बलिउडका कयौं कलाकारले फलो गर्ने गर्दछन् । आकाशले पनि उनबाट फिटनेस सूत्र पक्कै लिए होलान् कि !

