प्रायः फिल्मको सुटिङ सेटबाटै निर्देशक र निर्माताबीच मनमुटाव सुरु हुन थाल्छ । उस्तै परे ‘पानी बारबार’ नै हुन्छ । तर, टिमभित्रको किचलो बाहिर आए त्यसको प्रत्यक्ष प्रभाव फिल्मलाई पर्न सक्ने ठानेर सकभर फिल्म रिलिज अगाडिसम्म उनीहरु मौन बस्नुमा नै उचित ठान्दछन् । तर, जसै फिल्म रिलिज हुन्छ अनि सुरु हुन्छ एकअर्काप्रति आरोप-प्रत्यारोप ।
अहिले फिल्म ‘रणवीर’ टिमभित्र पनि ठूलो किचलो सुरु भएको छ । फिल्म बक्सअफिसमा डिजास्टर साबित भएपछि निर्माता र निर्देशकबीच ‘पानी बारबार’ भएको छ । फिल्म रिलिज अगाडि निर्देशक गोविन्दसिंह भण्डारी प्रचार-प्रसारमा नहिँड्दा नै निर्मातासँग उनको सम्बन्ध चिसिएको चर्चा चलेको थियो ।

फिल्म रिलिजपछि भने टिमभित्रको किचलो छताछुल्ल भएको छ । हालै एक साप्ताहिकसँग कुराकानी गर्दै निर्मात्री गोमा विष्ट थापाले निर्देशक भण्डारीमाथि गम्भीर आरोप लगाएकी छन् । उनले निर्देशकका कारण फिल्म सोचेजस्तो सफल हुन नसकेको ठोकुवा गरेकी छन् । उनले निर्देशकले बजेटमा मनोमानी गरेको आरोप समेत लगाइन् ।
'५० दिनमा सक्नुपर्ने सुटिङ ९५ दिनमा सकियो । ८० लाखमा फिल्म रेडी गर्दिन्छु भनेर वचन दिनुभएको थियो । तर, ढाई करोड लाग्यो । यसको जवाफ निर्देशकले दिनु पर्छ कि पर्दैन ?', निर्मात्री विष्ट कड्किइन् । निर्देशक भण्डारी जस्ता निर्देशकका कारण सोझा-सिधा निर्माता फस्ने गरेको उनी बताउँछिन् ।
उनले आफूले निर्देशक भण्डारीलाई सुटिङ सेटबाटै निकाल्न खोजेता पनि निर्माता दिपेन्द्र रेग्मीका कारण चुप बसेको बताइन् । उनी निर्देशकमाथि आरोप लगाउँदै अगाडि भन्छिन्, 'उहाँको कामबाट हामी एकदमै आजित भएका थियौं । टेक्निसियनदेखी कलाकारसम्म आफैंले छान्ने अनि बजेटमा मनोमानी गर्ने । म जस्ता निर्माता कसरी ठगिँदा रहेछन् भन्ने बल्ल बुझेँ ।'
निर्देशकले समयमा फिल्म तयार नगरेको कारण आफू ठूलो ऋणमा डुबेको उनले गुनासो पोखेकी छन् । ‘रणवीर’ माघ १८ गते प्रदर्शनमा आएको थियो । फिल्मको 'वर्ड अफ माउथ' राम्रो भए पनि दर्शकको साथ भने पाउन सकेन । फिल्ममा शुशील सिटौला, सुवेक्षा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकारलगायतको अभिनय थियो ।

