चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ स्टेशन’ का कारण यतिबेला चकलेटी अभिनेता प्रदीप खड्का चर्चामा छन् । भेट्रान निर्देशक उज्जवल घिमिरेको निर्देशनमा तयार भएको फिल्ममा प्रदीपले ‘लिलिबिली’ गर्ल जसिता गुरुङसँग रोमान्स गरेका छन् । फिल्मको केही दिनमा पहिलो गीत सार्वजनिक हुँदैछ । यो यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक हो ।
यो फिल्मपछि प्रदीपको पाइपलाइनमा तीन फिल्म छन् । उनी हेमराज विसीको अनटाइटल प्रोजेक्टमा अनुबन्ध भइसकेका छन्, जसमा उनको अपोजिटमा अभिनेत्री साम्राज्ञी आरएल शाह हुनेछिन् । यसपछि उनले गर्ने फिल्म हो ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङको ‘बेला’ । यो फिल्मपछि उनी ‘प्रेमगीत ३’ मा व्यस्त हुनेछन् ।
नेपाली फिल्मका सर्वाधिक महँगा अभिनेताको सूचीमा अग्रणी स्थानमा आफूलाई उभ्याउन सफल प्रदीपले फिल्म ‘कबड्डी ३’ गर्न लागेको खबर गएको महिना बाहिर आएको थियो । तर, न प्रदीपले यो कुरा स्विकार गरे न त निर्देशक गुरुङले नै । अब भने प्रदीप उक्त ब्रान्ड नामसँग जोडिने सम्भावना बढेको छ । निर्देशक गुरुङ र प्रदीपबीच मौखिक कुराकानी भइसकेको छ ।
 (5)(1)(1)(1).jpg)
प्रदीपले फिल्म गर्ने सम्भावना प्रवल भए पनि साइन भने नगरिसकेका बताएका छन् । उनले अहिले फिल्मको कथामा काम भइरहेको बताए । निर्देशक गुरुङले पनि प्रदीपसँग मौखिक कुराकानी भएको स्विकार गरे । फिल्मीखबरसँग कुराकानी गर्दै उनले भने- 'अहिलेसम्म कुनै कलाकार फाइनल भइसकेका छैनन् । प्रदीपसँग मात्र होइन धेरै कलाकारसँग फिल्मको विषयमा कुराकानी भएको छ ।'
उनले फिल्म ‘बेला’ र ‘कबड्डी ३’ फरक-फरक प्रोजेक्ट रहेको पनि बताए । ‘‘बेला’ नबन्ने भएर ‘कबड्डी ३’ बनाउन लागेको होइन । ‘बेला’ को स्क्रिप्टमा केही समय अझै लाग्ने भएपछि ‘कबड्डी ३’ सुरु गर्न लागेको हुँ । ‘बेला’ मा प्रदीप नै हुने हो’’, उनले स्पष्ट पारे । उनले सौगात मल्ल, दयाहाङ राई, निश्चल बस्नेत, कर्मालगायतसँग ‘कबड्डी ३’ का लागि कुरा भइरहेको पनि बताए ।
विशेष स्रोतका अनुसार, उक्त फिल्मको रिलिज डेट समेत बुक भइसकेको छ । फिल्म अर्को वर्षको तीजलाई लक्षित गर्दै भाद्र १३ गते प्रदर्शनमा आउने छ । उक्त डेटमा प्रदर्शनमा नआए दशैंमा आउने सम्भावना छ । फिल्म क्षेत्रमा लागेर आफ्नो छुट्टै पहिचान बनाइसकेका प्रदीप ‘कबड्डी’ को तेस्रो सिरिजमा अनुबन्ध भए उनका फ्यानका लागि भने ठूलै सरप्राइज हुनेछ ।

