चकलेटी अभिनेता आशिरमान देशराज जोशी अभिनीत फिल्म ‘दि ब्रेकअप’ अहिले विभिन्न कारणले चर्चामा छ । पहिलो त यो फिल्म सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ सँग फागुन १७ मा एकसाथ प्रदर्शनमा आउँदैछ । अर्को कारण हो गीत र ट्रेलरमा समेटिएको अभिनेता आशिर र अभिनेत्री शिल्पा मास्केबीचको 'लिपलक' दृश्य ।

लभस्टोरी फिल्म बनाउन सिपालु मानिने हेमराज विसीको निर्देशनमा बनेका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत छ । प्रदर्शन मिति दिनप्रतिदिन नजिकिँदै गर्दा निर्माण टिमले युवापुस्तालाई लक्षित गर्दै प्रचार-प्रसारलाई चुस्त बनाउन थालेको छ । आइतबार बसन्त पञ्चमीको दिन पुल्चोकको एक कार्यक्रमका विधार्थीमाझ ‘दि ब्रेकअप’ टिम पुग्यो ।
अभिनेता आशिरमानसँगै रेमनदास श्रेष्ठ र इच्छा कार्की स्टेज चढ्दा उपस्थित हजारौँ दर्शकले हुटिङ र तालीले न्यायो माया दर्शाएका थिए । त्यसपश्चात नजिकिँदो 'भ्यालेन्टाइन डे' लक्षित गर्दै सुरुमै आशिरले लभ र ब्रेकअपको कुरा जोड्न सुरु गरे । कलाकारले फिल्ममा समावेश 'आज हाम्रो भेट भाको दिन' गीतमा नृत्य पनि गरे ।

आशिर र इच्छाले स्टेजमा कम्मर मर्काउँदा दर्शक तथा विधार्थीहरुले साथमा साथ दिएका थिए । त्यसपछि आशिर आफ्ना क्रेजी फ्यानसँग अटोग्राफ र सेल्फीमा रमाए । एक युवती फ्यानले एक हजारको नोटमै अटोग्राफ लिएकी थिइन् । फिल्मको मुख्य कन्टेन्ट नै युवा लक्षित भएका कारण कलेज केन्द्रित प्रचारमा जोडिएको उनले बताए ।
आशिर माया गर्ने जो कोहिको लागि ‘दि ब्रेकअप’ मनोरञ्जनको उपयुक्त खुराक बन्ने दाबी गर्छन् । अभिनेत्री इच्छाले डेब्यू फिल्मबाट ठूलो आश बोकेको बताइन् । ‘एउटा प्रेमिल फिल्म बनेको छ । दर्शकले फिल्म हेरेर नाक खुम्च्याउनु हुन्न', उनी विश्वस्त सुनिइन् । अभिनेत्री शिल्पा भने उक्त कार्यक्रममा अनुपस्थित थिइन् ।

रुपक थापा, दीपक खतिवडा र रेनु राणाको निर्माणमा बनेको ‘दि ब्रेकअप’ लाई नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको छ । नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । अभिनेता सरोज खनालको पनि अभिनय रहेको फिल्मको कथा निर्देशक विसीको हो ।

