बरिष्ठ हास्यकलाकार राजाराम पौडेलले धेरै पटक मिडियामा आफूले फिल्म ‘क्याप्टेन’ बाट पारिश्रमिक नपाएको र आफ्नो डबिङ अरुबाट गराए निर्माता विरुद्ध मुद्धा हाल्ने समेत बताएका थिए । तर, उनको गुनासो निर्माता भुवन केसीले नसुने झैं गरेका थिए । फिल्मको पहिलो गीत सार्वजनिक कार्यक्रममा पत्रकारले प्रश्न गर्दा उनले भनेका थिए, ‘त्यो मलाई थाहा छैन र सुन्न पनि चाहन्नँ ।’
.jpg)
उनको उक्त अव्यवहारिक र अपरिपक्क अभिव्यक्तिले फिल्मको विरोध हुन थालेको थियो । उनले केही दिन अगाडि फिल्मको ट्रेलर रिलिज कार्यक्रममा भने काम गर्ने सबै कलाकारलाई पारिश्रमिक दिने बताए । उनले भनेका थिए, ‘म सिनियरदेखि जुनियर सबैलाई सम्मान गर्छु । जसले मेहनतका साथ काम गर्छ उसलाई पारिश्रमिक नदिने त कुरै हुँदैन । सबैले पारिश्रमिक पाउँछन् ।’
सर्वाधिक महँगो अभिनेताको फिल्ममा काम गर्ने कलाकारले पारिश्रमिक नपाएको भन्दै चर्को आलोचना भइरहँदा अन्ततः निर्माता केसीले कलाकार पौडेललाई पारिश्रमिक बुझाएका छन् । केही दिन अगाडि आफ्नो भागको डबिङ गर्दै कलाकार पौडेलले पारिश्रमिक बुझेका हुन् । आपसी असमझदारीका कारण पारिश्रमिकमा लफडा भएको पौडेलले बताए ।
फिल्मबाट पारिश्रमिक नपाएको गुनासो पोखेपछि राजारामप्रति भुवन रुष्ट थिए । तर, उनी भविष्यमा राजारामसँग सँगै काम गर्ने बताउँछन् । कुनै पनि कलाकारले फिल्म गर्नुभन्दा अगाडि आधा र फिल्मको छायांकन सकिएपछि बाँकी पारिश्रमिक पाउने गर्छन् । तर, फागुन १७ गतेबाट आउने ‘क्याप्टेन’ बाट भने कलाकारले डबिङको बेला पारिश्रमिक बुझेका छन् ।
‘क्याप्टेन’ लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । अनमोल फुटबल खेलाडीको भूमिकामा रहेको यस फिल्मबाट उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेब्यू गरेका छन् । प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । फिल्मको पटकथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् ।
ट्रेलर हेर्नुहोस् :-

