Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म हेरेपछि सुबिनले भने- ‘समर लभ’ सुपरहिट हुन्छ’

फिल्मीखबर, काठमाण्डौ, 2019/02/08
‘बेस्ट सेलिङ’ उपन्यासमाथि बनेको फिल्म ‘समर लभ’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । युवा पाठकले सर्वाधिक रुचाएको पुस्तकमाथि निर्माण भएका कारण दर्शकमा फिल्मप्रति ठूलो अपेक्षा छ । निर्माण टिमले दर्शकको अपेक्षा निराशामा परिणत नहुने दाबी गर्दै आएको छ । फिल्मलाई 'नाईं नभन्नू ल ३' फेम निर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन् । 
 
 
प्रदर्शनको पहिलो दिन शुक्रवार बिहान काठमाडौंको कमलपोखरी स्थित बिग मुभिजमा फिल्मको 'स्पेशल शो' राखिएको थियो । पत्रकारको साथमा बसेर कलाकार, निर्देशक, लेखक, निर्माताले फिल्म हेरेका थिए । फिल्म हेरिसकेपछि ‘समर लभ’ का लेखक सुबिन भट्टराई पुस्तक पढेका पाठक दर्शक भएर फिल्म हेर्न हलसम्म आउनेमा आशावादी देखिए । 
 
दोस्रो पटक फिल्म हेरेका उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'फिल्म राम्रो बनेको छ । मलाई केमा खुसी लागेको छ भने फिल्ममा पुस्तकभन्दा बाहिरका कुरा छैनन् । पुस्तकमा मात्र सीमित भएर बनेको छ ।' उनले आफूलाई इमोसनल पक्ष राम्रो लागेको बताए । सुबिनले पुस्तकका धेरै कुराहरु छुटे पनि छुटाउन नहुने कुरा भने समेटिएकोमा खुसी व्यक्त गरे । 
 
उनले पुस्तकका पात्रमा अभिनीत केही कलाकारबाट सन्तुष्ट भए पनि केही कलाकारबाट नभएको स्पष्ट भनाइ राखे । पुस्तकका पात्र अनुसार 'मिसकास्ट' भए पनि फिल्म हेरेपछि नराम्रो भने नलागेको उनको भनाइ छ । उनले थपे, ‘किताबकै जस्तै ठ्याक्कै भेटेको भए झन् राम्रो हुन्थ्यो, तर फिल्म हेरिसकेपछि भने यो कास्टिङ पनि राम्रो छ भन्नेमा पुगेको छु ।’
 
 
विभिन्न कालखण्डमा एउटै पुस्तकमाथि धेरै फिल्म बनेको बताउँदै उनले १०/१५ वर्षपछि आफैं ‘समर लभ’ को रिमेक बनाउने तयारीमा रहेको पनि बताए । भविष्यमा फेरि उक्त पुस्तकमाथि फिल्म बनाउने अफर आए उनी आफैं निर्देशन गर्ने सोचमा छन् । ‘पुस्तक मैले लेखेको हुँदा अरुभन्दा पुस्तकलाई फिल्ममा मैले नै न्याय गर्न सक्छु कि भन्ने लागेको छ’, उनी सुनिए । 
 
सुबिन पुस्तकजस्तै फिल्म पनि सुपरहिट हुनेमा भने विश्वस्त छन् । 'फिल्म सुपरहिट हुन्छ भन्नेमा ढुक्क छु । फिल्मको इनिसियल भन्दा पनि 'वर्ड अफ माउथ' राम्रो हुन्छ भन्ने लागेको छ', उनले भने । गायक तथा संगीतकार पुष्पन प्रधानले कलाकारहरुको अभिनय, निर्देशक मुस्कान ढकालको निर्देशकिय कला र कथावस्तुको मुक्तकण्ठले प्रशंसा गरे । 
 
फिल्म हेरेपछि सायाको भूमिका निभाएकी रेवती क्षेत्री खुसी देखिइन् । उनले फिल्मबाट आफू सन्तुष्ट रहेको बताइन् । 'फिल्म हेरिरहँदा मेरो आँखा रसाएको थियो । हामीले फिल्म जस्तो बनाउन खोजेका थियौं दुरुस्तै त्यस्तै बनेको छ', उनले भनिन् । उनी अन्य फिल्ममा आफ्नो कमी कमजोरी सुधार्ने बाचा पनि गर्छिन् । 
 
 
अतितको भूमिकामा रहेका आशिषले भने ३ वर्षको मेहनतले रंग ल्याएको देखेर खुसी रहेको बताए । किरणको भूमिकामा रहेका कलाकार शिशिर भण्डारीले फिल्म आफूले सोचेको भन्दा धेरै राम्रो पाएको भन्दै खुसी व्यक्त गरे । उनले फिल्म इतिहास बनाउन योग्य रहेको पनि दाबी गरे । फिल्म हेरेपछि पत्रकारहरुले भने मिश्रित प्रतिक्रिया दिएका छन् । 
Most Visited News (monthly)