करीब एक वर्षपछि सुपरस्टार अनमोल केसी फिल्म ‘क्याप्टेन’ मार्फत् पर्दामा फर्किएका छन् । फ्लोरमा जानुभन्दा अगावैदेखि दर्शकमा व्यग्र प्रतिक्षामा रहेको यो फिल्म आउँदो फागुन १७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यसमा अनमोलले एक फुटबल खेलाडी इशानको भूमिका निभाएका छन् ।

‘रहर छ सँगै’ बोलको गीत र केही दिन अगाडि सार्वजनिक भएको धमाकेदार ट्रेलरले फिल्मको राम्रो हाइप निर्माण गरेको छ । ट्रेलर रिलिजपछि फिल्मको मेकिङ र अभिनेता अनमोलको अभिनयलाई लिएर चर्चा हुन थालेको छ । ट्रेलरकै कारण अहिले फिल्मको विदेशमा समेत माग बढ्न थालेको छ ।
नेपाल प्रदर्शन अगावै महँगोमा निर्माता भुवन केसीले विभिन्न देशका लागि फिल्मको प्रदर्शन अधिकार विक्री गरिसकेका छन् । नेपाल प्रदर्शन लगत्तै यो फिल्म जापानको टोकियोमा मार्च १७ मा प्रदर्शन हुने तय भएको छ । डेस्टिनी क्रियशनसँग सहकार्य गरेर सुवास लामिछानेले फिल्म प्रदर्शन गर्दैछन् ।
उपासना सिंह ठकुरी र प्रियंका एमभी यस फिल्ममा अनमोलको अपोजिटमा छन् । फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । ‘क्याप्टेन’ का लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् । पटकथा सामिप्यराज तिमल्सिनाको हो ।
ट्रेलर हेर्नुहोस् :-

