दर्जनौं फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेका बसन्त अधिकारीको डेब्यू निर्देशित फिल्म ‘जानी नजानी’ को सार्वजनिक भएको पहिलो गीत ‘एउटीलाई मुटुमा घर...’ को कभर भिडियो घोषणा गरिएको छ । बिहिबार काठमाडौंको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट गर्दै निर्माण टिमले कभर भिडियो कम्पिटिसन घोषणा गर्यो ।
अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर अर्जुन पोखरेल र दुर्गा खरेलको छ । गीतको भिडियोमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा मनिष र सुमीसँगै डेब्यू नायिका निरिशा बस्नेतलाई पनि देख्न सकिन्छ । यो गीतको कभर भिडियो कम्तीमा एक मिनेटको हुनु पर्नेछ ।
चार मिनेटसम्मको भए पनि फरक नपर्ने यसकी निर्मात्री रोशनी केसीले बताइन् । उत्कृष्ट कभर भिडियो विजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोश्रो हुनेले रोवाकै फाइभ प्वाइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुक क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्ष निःशुल्क गर्न पाउने छन् ।
निर्देशक बसन्त अधिकारीले भने, ‘भिडियो यही २० फागुनभित्र [email protected] मा पठाइसक्नु पर्नेछ ।’ यस प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई 'डिआईडी सिजन २' का उत्कृष्ट १० मा पर्न सफर नृत्यकलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर कंशकारले चयन गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट भिडियो प्राप्त हुने विश्वास आफूले गरेको उनले बताए ।
.jpg)
अभिनेता मनिषले पनि यो प्रतियोगिताले धेरैलाई आफूहरुसँग जोडिन सघाउने बताए । फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।
फिल्ममा छायांकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । चैत १ मा रिलिज हुने फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।
गीत हेर्नुहोस् :-

